साउदीबाट उद्दार गरिएका पाँच युवाको प्रधानमन्त्रीसँग भेट

साउदीबाट उद्दार गरिएका पाँच युवाको प्रधानमन्त्रीसँग भेट

मंसिर ४, काठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा अलपत्र परेका पाँच युवाको प्रधानमन्त्री कार्यालयले उद्दार गरेपछि नेपाल फर्केका पाँच जना युवाहरुले प्रधानमन्त्रीसँग भेट गरेका छन् ।
शनिबार दिउँसो प्रधानमन्त्री कार्यालयमा भेट गरी उद्दार गरिएका युवाहरुले आफूहरुलाई उद्दार गरिएको भन्दै नेपाल सरकार र प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् । उद्दार गरिएका श्रीभूवनबस्ती–८, कञ्चनपुरका धनबहादुर मिजारले भने, ‘हामी गएको कम्पनि अवैधानिक रहेछ, दिनदिनै प्रहरीले छापा माथ्र्यो, त्यो बेला हामी कम्पनि छोडेर भाग्नुपथ्र्यो, खाना खाँदाखाँदै, सुतेको बेला पनि हामी कैयौंपटक भाग्यौं । प्रहरी आएपछि लुक्नुपर्ने र अरु बेला चोरीको ढुंगाको काम गर्नुपर्ने रहेछ’, आफ्नो पीडा सुनाउँदै मिजारले थपे, ‘मेनपावर र कम्पनिले कुनै वास्ता नगरी उल्टै धम्की दिन थालेपछि हामीले प्रधानमन्त्री कार्यालयमा अनुरोध गर्यौ र हामीलाई उद्दार गरियो, हाम्रो उद्दार गर्नुभएकोमा प्रधानमन्त्रीज्यू र नेपाल सरकारलाई विशेष धन्यवाद छ ।’
भेटमा प्रधानमन्त्रीले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै विदेशमा रहेका नेपालीप्रति संवेदनशील भएर काम गरिरहेको जानकारी गराउँदै सरकारले विदेशको जेलमा भएका, मृत्युदण्डको फैसला गरिएका, विदेशमा मृत्यु भएका र अलपत्र परेका नेपालीहरुको उद्दार र राहतका लागि विशेष प्रयत्न गरिरहेको बताउनु भयो ।
श्रावण ३ गते त्रीभूवनबस्ती–८, कञ्चनपुरका ३० वर्षीय धनबहादुर मिजार, रामपुर–२, उदयपुरका ३७ वर्षीय राजकुमार बि.क., कोल्हुवा–२, नवलपरासीका ३३ वर्षीय धनबहादुर मगर, गोरखा नगरपालिका–९, गोरखाका ३८ वर्षीय यामबहादुर बि.क. र बौद्ध, काठमाडौंका ३२ वर्षीय अनुप शेर्पा जनही ९० हजारदेखि १२५ हजारसम्म खर्च गरि महाराजगञ्जको आयुस ओभरसिज सर्भिसबाट बैदेशिक रोजगारीका लागि साउदीको रियाद पुगेका थिए ।
अलपत्र परेका उनीहरुलाई प्रधानमन्त्री कार्यालयको विशेष पहलमा मंसीर ३ गते नेपाल ल्याइएको थियो । भेटमा प्रधानमन्त्रीले मेनपावरलाई मर्यादित र व्यवस्थित बनाउन सरकार थप संवेदनशील भएर लाग्ने बताउनु भयो ।