बाह्रवर्षे महाकुम्भ मेलाको तयारी सम्बन्धमा पत्रकार सम्मेलन सम्पन्न

बाह्रवर्षे महाकुम्भ मेलाको तयारी सम्बन्धमा पत्रकार सम्मेलन सम्पन्न

२१ चैत्र, काठमाडौँ। यही चैत्र २७ गते शुक्ल प्रतिपदादेखि २०८१ बैशाख २८ गते अक्षय तृतीयासम्म सुनसरी जिल्लाको चतराधाममा सञ्चालन हुने बाह्रवर्षे महाकुम्भ मेलाको तयारी सम्बन्धमा जानकारी दिनका लागि बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूहरूका साथै जगतगुरु आश्रम शंखमूलका अध्यक्ष पदाधिकारीहरू, विश्‍व हिन्दु परिषदका अध्यक्ष तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

पत्रकार सम्मेलनमा प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यज्यू र केन्द्रीय सम्पर्क तथा समन्वय बिन्दुका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव श्री अर्जुनप्रसाद पोखरेलज्यूले महाकुम्भ मेलाको धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्व एवम् मेलाको तयारीका बारेमा जानकारी गराउनु भयो।

जगतगुरु बालसन्त मोहनशरण देवाचार्यज्यूले बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको पौराणिक महत्वका बारेमा प्रकाश पार्नुहुँदै उक्त मेलाका लागि देश-विदेशबाट दर्शनार्थी भक्तजन आउने क्रम सुरु भएको बताउनुभयो। उहाँले मेलामा सहभागिताका तथा कुम्भ स्नानका लागि लागि धार्मिक प्रतिष्ठान, सन्तमहन्त र आमजनसमुदायमा निमन्त्रणा गर्नु भयो।यसैगरी केन्द्रीय सम्पर्क तथा समन्वय बिन्दुका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव श्री अर्जुनप्रसाद पोखरेलज्यूले प्रदेश समन्वय इकाई एवम् महाकुम्भ मेला मूल समारोह समिति र उपसमितिबाट भईरहेको तयारीका बारेमा जानकारी गराउँदै भक्तजनहरुको सुरक्षा, ट्राफिक व्यवस्थापन र तीर्थयात्रीको सुविधाका लागि प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो।