आइटिटिएफ विज्ञ खानद्वारा प्रधानमन्त्रीसँग भेट

आइटिटिएफ विज्ञ खानद्वारा प्रधानमन्त्रीसँग भेट

मंसिर ४, काठमाडौं । अन्तर्राष्ट्रिय टेवुल टेनिस फेडेरेसनका विज्ञ आरिफ खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी टेवुल टेनिस खेललाई थप महत्व दिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खानले नेपालमा टेवुल टेनिस खेलको राम्रो सम्भावना रहेको भन्दै त्यसका लागि सरकारको तर्फबाट थप महत्व दिन प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको हो । भेटमा प्रधानमन्त्रीले आफूले हरेक बिहान टेवुल टेनिस खेल्ने गरेको जानकारी गराउँदै टेवुल टेनिस खेल शारीरिक र मानसिक स्फूर्तिका लागि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘म पनि प्रत्येक बिहान टेवुल टेनिस खेल्छु, यसको बारेमा तपाईहरुलाई जानकारी गराउन पाउँदा मलाई पनि खुसी लागेको छ । टेवुल टेनिस र समग्र खेल क्षेत्रको विकासका लागि मेरो नेतृत्वको सरकार गम्भीरतापूर्वक लागिरहेको छ ।’
भेटमा प्रधानमन्त्रीका टेवुल टेनिस प्रशिक्षक सुदिल शाहीले टेवुल टेनिसका विज्ञ खानसँग मैत्रीपूर्ण खेलको अवसर प्रदान गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले समय मिलाएर मैत्रीपूर्ण खेल खेल्न आफू पनि ईच्छुक रहेको जानकारी दिनुभयो ।