दश वर्षमा राजनीतिमा गुणात्मक परिवर्तन भएको छ, ‘प्रधानमन्त्री’

दश वर्षमा राजनीतिमा गुणात्मक परिवर्तन भएको छ, ‘प्रधानमन्त्री’

मंसिर ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता यताको दश वर्षको अवधिमा नेपालको राजनीतिमा गुणात्मक परिवर्तन आएको बताउनु भएको छ ।
शनिबार राति नेपाल टेलिभिजनको सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको अन्तर्वार्तामा प्रधानमन्त्रीले दश वर्षको शान्ति प्रक्रिया मौलिक र गुणात्मक भएको बताउनु भएको हो । शान्ति सम्झौताको दश वर्ष पुरा भएको सन्दर्भमा अन्तर्वार्ताका क्रममा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको विचारको सारसंक्षेप यस प्रकार रहेको छ—प्रधानमन्त्रीको स्वकीय सचिवालय ।
— दश वर्षको अगाडि र अहिलेको स्थिति हेर्दा राजनीतिक रुपमा अलि व्यवहारिक र भावनात्मक रुपमा पनि पृथक समीक्षा हुुनुपर्छ । यो दश वर्षमा राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट संघीयतामा जानु सामान्य कुरा होइन । यो शान्ति सम्झौता र शान्ति प्रक्रियाको देन हो । अहिले देशमा द्धन्द्धको स्थिति छैन । शान्ति सम्झौताको दश वर्ष हेर्दा ठूलठूला राजनीतिक र भावनात्मक परिवर्तन भएको छ । राजनीतिमा गुणात्मक परिवर्तन आएको छ । तर, जनताको जीवनमा परिवर्तन ल्याउने सपना गुणात्मक रुपमा अगाडि बढ्न सकेको छैन, अबको हाम्रो ध्यान जनताको जीवन बदल्ने दिशातिर हुनुपर्छ ।
— जनजीविकाको क्षेत्रमा पनि क्रमशः प्रयासहरु भएका छन् । विश्वका अनुभव हेर्दा नेपालको संक्रमणकाल धेरै लामो होइन । तर, जनअपेक्षाका दृष्टिले लामो भन्नुपर्ने हुन्छ । यस बीचमा हामीले शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापन, संविधान सभा, गणतन्त्र, विकास निर्माणका दृष्टिले हेर्दा दश वर्षलाई उत्साहवद्र्धक रुपमै लिन सकिन्छ ।
— वैद्य, विप्लवजीहरु पनि पुरानै ठाउँमा हुनुहुन्न । सेना समायोजनदेखि विभाजित भएको माओवादी आन्दोलन एकताको आवश्यकतातिर जाँदैछ । जनताका मुद्धा र विकास एवं परिवर्तनलाई संस्थागत गर्न सबै माओवादीहरु एकतावद्ध हुनैपर्छ । समयले सबै माओवादी एकै ठाउँमा आएर परिवर्तनलाई संस्थागत र समृद्धितिर जान निर्देशित गरेको छ । सबै माओवादी धाराहरुलाई म विशेष रुपमा एकताका लागि अपील गर्न चाहन्छु ।
— बेपत्ताको छानविन छिटै होस् भन्ने चाहन्थ्यौं । यसमा केही बिलम्व भयो, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग बनेर काम गरिरहेका छन् । ऐन संशोधन र कार्यान्वयनको सकारात्मक वातावरण बनाउनेतिर हाम्रो जोड छ । परिणाम देखिन थालेका छन्, छिटै सकारात्मक नतिजा आउँछ र शान्ति प्रक्रियाले पनि पूर्णता पाउँछ ।
— संक्रमणकाल केही जटिल हुन्छ । ठूलठूला परिवर्तनहरुको व्यवस्थापनका लागि केही समय लाग्थ्यो र लाग्यो । सरकार सबै समस्याहरुलाई सकारात्मक रुपमा समाधान गर्ने कोशिस गरिरहेको छ । हामी सबै समस्यालाई व्यवस्थापन गर्न सक्षम छौं ।
— सरकारको १०० दिनमा विकास आयोजना, छिमेकीसँगको सम्बन्ध, संविधान संशोधनको तयारी, जनजिविकाको सम्बोधन लगायतका काममा निकै प्रगति भएको छ । मेरो काममा म सन्तुष्ट छु, परिणामले त्यसको पुष्टि गर्दछ । सरकार बनेदेखि नै संविधान संशोधनको प्रयास भएको हो, त्यसमा पर्याप्त प्रगति भएको छ । पूनर्निर्माणको काम सन्तोषजनक रुपमै अगाडि बढेको छ । देश सुशासन र विकास निर्माणतिर जाँदैछ, व्यवस्थापनका दृष्टिले सरकार बलियो बन्दै गएको छ । सरकारले लिएका निर्णयहरुले धेरै ठाउँमा सुधार आएको छ । त्यसै गरी विदेशमा गएका नेपाली नागरिकका लागि सरकारले गरेका काम सकारात्मक छन, तथ्यले यही भन्छ । सरकार निरन्तर राष्ट्र र जनताको पक्षमा अघि बढेको छ ।
— संविधान संशोधनको अन्तिम तयारीमा छु । संविधान संशोधनको पूर्वाधारका रुपमा विश्वासको वातावरण बनेको छ । मुद्धा फिर्ता, उच्चस्तरीय आयोग, भाषा आयोग, क्षतिपूर्ति, शहिद घोषणा लगायतका काम गम्भीरतापूर्वक भएका छन् । यसलाई सामान्य रुपमा लिनु हुँदैन, यो संविधान संशोधनका लागि विश्वासको वातावरणकै लागि गरिएको हो । मधेशी मोर्चा र संघीय गठबन्धनको भनाइले मलाई अप्ठ्यारो पारेको छैन । प्रतिपक्षले पनि हिमाल, पहाड र तराईलाई मिलाएर राष्ट्रिय एकता कायम गर्ने हो भने संविधान संशोधनमा तयार हुनुपर्छ ।
— मैले प्रतिपक्षका साथीहरुले हिजो आफैले भनेको विषयको वरिपरि रहेर समझदारी खोजेको छु । उहाँहरुले आफैले गरेको प्रतिवद्धताबाट बिचलित हुन मिल्दैन । के उहाँले देशलाई अप्ठ्यारोमा लान खोजेको हो ? के उहाँहरुले संविधान कार्यान्वयन गर्न नचाहेको हो ? म अझै पनि आशावादी छु, उहाँहरु सहमतिमा आउनु हुन्छ । उहाँहरुले चुनाव हुन नदिने स्थिति र कोणबाट सोच्नुभयो भने हामीले पनि गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।
— हामी ६ गते प्रमूख दलहरु बसेर छलफल गर्छाैं । सहमतिका लागि प्रयास गर्छाैं । उहाँहरु मान्नुभएन भने हामी अगाडि बढ्छौं । संविधान संशोधन प्रस्ताव तयार हुन्छ र थप छलफल पनि गर्दै जान्छौं । यसमा धेरै समय अल्मलिने अवस्था छैन ।
— भ्रष्टाचार नियन्त्रण र कालोबजारी रोकथामको क्षेत्रमा काफी प्रगति भएको छ । बजार अनुगमन नियमित गरिएको छ । भ्रष्टाचार नियन्त्रणमा कडा कानून बनाउन सकिन्छ, त्यसका लागि मृत्युदण्डको व्यवस्था नै गर्नुपर्छ भन्ने लाग्दैन । तर, बलियो कानून जरुरी छ ।
— उर्जाको क्षेत्रमा अघिल्लोपटक हामीले महत्वकांक्षी योजना बनाउन खोजेका थियौं । तर, सकेनौं । यसपटक हामीले जनतामा नतिजा देखिने गरी काम गर्न खोज्यौं । हामीले एउटा सक्षम मानिसलाई प्राधिकरणको प्रमूखका रुपमा अगाडि ल्यायौं । प्रधानमन्त्री, मन्त्री र प्राधिकरणसम्म जनताको पक्षमा केही गरिछाड्ने संकल्पले हामी लोडसेडिङ अन्त्य गर्न सफल भयौं । दोस्रो, हामीले विद्युतको व्यवस्थापनमा भएका कमि सच्चायौं, हामीले विद्युतको अधिकतम सदुपयोग र विद्युत चोरी कम गरेर लोडसेडिङ रोक्न सफल भयौं । तर, हामी यसैमा रमाउनु हुँदैन । ठूला आयोजना छिटो सम्पन्न गरेर मात्र हामी लोडसेडिङ सधैका लागि अन्त्य गर्न सक्छौं । अहिलेको अनुभवले इमान्दार भएर काम गर्याैं भने लोडसेडिङ कम गर्न सकिन्छ भन्ने प्रमाणित हुन्छ । हामी विद्युत आपूर्तिमा सुधार गर्न सक्छौं ।
— बुढीगण्डकी अहिलेका विद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो आयोजना हो । त्यसको अन्तिम तयारी भइरहेको छ । किसानहरुलाई उचित मुआब्जा दिएर आयोजनाको सुरुवात गर्ने गृहकार्य भइरहेको छ । यसबाहेक अरु आयोजनाहरु पनि छिटै सुरु हुन्छन् । त्यसका लागि सरकारले आयोजनाको स्तर निर्धारण गरी जनताको शेयर समेत समावेश गर्ने गरी तयारी गरेको छ । केही हप्ताभित्र केही ठूला आयोजनाहरु प्रारम्भ हुन्छन् ।
— देशको स्वाधिनतालाई मजभूत बनाउने उद्देश्यले नै म सरकारमा छु । मेरो एक मात्र चाहना देश र जनताको हित हो । हिमाल, पहाड र तराईलाई जोड्ने मेरो सकारात्मक प्रयासलाई तोडमरोड गर्ने प्रयास गर्ने गरिएको छ । यसबाहेक गरिएका तर्कहरु सत्य होइनन्, भ्रामक प्रचार मात्र हुन् । सीमानामा भएका विवाद र डुबानका बारेमा सरकारी तबरमा कुरा भएको छ । मेरो भारत भ्रमणमा पनि यस विषयमा कुरा भएको छ । दुवैतिरको विज्ञहरुको टिमले काम गरिरहेको छ । हामी छिटै एउटा टुंगोमा पुग्छौं ।
— बिनिता केसीलाई धन्यवाद दिन चाहन्छु । विदेशमा रहेका नेपालीलाई उद्दार गर्ने र राहत दिने मेरो संकल्प छ । अस्ति पनि केही साथीहरु प्रधानमन्त्री कार्यालयमा आएर धन्यवाद दिनुभयो । आज मात्रै मैले उद्दार गरिएका पाँच जना युवाहरु भेटे, उहाँहरुका दर्दानाक कुरा सुने । सरकारले उद्दार र राहतका लागि प्रयास गरिरहेको छ । तर, यी सबै सहायक कुरा नै हुन् । स्थायी समाधानका लागि देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । त्यसमा सरकार गम्भीर छ । अहिले सरकारको तर्फबाट राहत र उद्दार दिने कुरामा गम्भीरतापूर्वक कदम चालेका छौं ।
— नेपालीहरु लाखौंको संख्यामा भारतमा काम गर्छन्, उनीहरु भारतीय मुद्राकै कारोबार गर्छन्, नेपाल र भारतको खुल्ला सीमाना र सम्बन्ध छ । त्यसैले मैले भारतीय प्रधानमन्त्रीलाई टेलिफोन गरी भारतीय नागरिकले पाउने सुबिधा नेपालीलाई पनि चाहियो, भारु सटही सहज हुनुपर्यो भनेको छु । उहाँले सकारात्मक रुपमा समाधान गर्छाैं भन्नुभएको छ । केही दिनमा समाधान हुने आशा गरेका छौं ।
— खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार हामी दिन्छौं । २१ वर्षपछि नेपालले पदक हासिल गरेको छ । हामीले घोषणाका लागि घोषणा गरेका छैनौं, यसको कार्यान्वयन हुन्छ । खेलाडीहरुले देशको गौरव बढाएका छन्, यसलाई हामीले राष्ट्रको शानको रुपमा लिनुपर्छ । सरकार खेल क्षेत्रप्रति संवेदनशील छ ।