नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश

नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश

२१ चैत्र, काठमाडौँ: सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले बुधबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा एवम् सुशासन (व्यवस्थापन तथा सञ्‍चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन  पेश गर्नुभएको छ ।

उक्त समारोहमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका सचिवज्यूहरु लगायतको उपस्थिति थियो ।

सो अवसरमा सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूले सरकारले स्वदेशमै कार्यरत तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका शोषण अन्त्य गर्न ऐतिहासिक पहलकदमी लिएको र सुशासनका मानकहरू स्थापित गर्न सरकार सफल भएको बताउनुभएको छ । उहाँले नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगायतका सार्वजनिक सेवाहरूका लागि घण्टौंसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिएको उल्लेख गर्नुहुँदै राज्यले नागरिकलाई प्रदान गर्ने सेवाहरूलाई थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाई सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

सम्माननीय प्रधानमन्त्रीज्यूले विद्यालयमा भर्नासँगै विद्यार्थीहरूका हातमा पाठ्यपुस्तक पुग्ने अवस्था सुनिश्चित गरिएको, बाली लगाउने समयमा किसानलाई मल अभाव हुने अवस्थाको अन्त्य गरिएको, संविधानले व्यवस्था गरेका मौलिक हकहरूको कार्यान्वयन तथा सङ्घीयता संस्थागत गर्न आवश्यक पर्ने कानुन तर्जुमाको प्रक्रियालाई तीब्ररूपमा अगाडि बढाइएको र तीनै तहका सरकारको कार्यविस्तृतीकरण परिमार्जन गरी स्पष्ट बनाउने विषयलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले आम नागरिकको विकास र समृद्धिको आकांक्षालाई यथाशीघ्र पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सीमित स्रोतसाधनको अधिकतम उपयोग गरेर संविधानले परिलक्षित गरेका नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो।