विकास र सुशासनलाई प्राथमिकतामा राखेको छु, ‘प्रधानमन्त्री’

विकास र सुशासनलाई प्राथमिकतामा राखेको छु, ‘प्रधानमन्त्री’

असोज १५, नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका आयोजनालाई प्राथमिकतामा राखेर निरीक्षण र अनुगमन गर्ने संकल्प गरेको बताउनु भएको छ ।
शनिबार बाँकेको नेपालगञ्जमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘सिक्टा नेपालको आफ्नै लगानी, प्राविधिक र प्रशासनिक स्वामित्वमा सञ्चालित आयोजना हो । ४७ प्रतिशतका काम भएको छ । अब हामीले समयभन्दा अगाडि सम्पन्न गर्नुहोला । म समयभन्दा पहिला, गुणस्तरीय रुपमा, जनतासँग समन्वय गरेर छिटो काम गर्नुहोला । सरकार छिटो र गुणस्तरीय काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नेछ । नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गरौं ।’
प्रधानमन्त्रीले संविधान संशोधन, पूनर्निर्माण, विकासका आयोजना, राष्ट्रिय सहमतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उच्च अदालत गठनमा सहमति भएको छ । संविधान संशोधन, निर्वाचन लगायतका राष्ट्रिय महत्वका विषय सरकार समझदारीका साथ अघि बढ्नेछ ।’
राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्व राख्ने ठूला आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री नेपालगञ्ज पुग्नुभएको हो । सो अवसरमा आयोजनाको तर्फबाट आयोजनाको प्रगति बिवरणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो । १० वर्षदेखि निर्माणाधिन ४२००० सेक्टर जमिन सिंचाई गर्ने क्षमता राख्ने योजना निर्माणका आधा काम सम्पन्न भइसकेको छ ।
निरीक्षणमा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षामान पुन, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल लगायतको उपस्थिति रहेको थियो ।