समयभन्दा पहिला आयोजना सम्पन्न गर्नेलाई पुरस्कृत गरिनेछ, ‘प्रधानमन्त्री’

समयभन्दा पहिला आयोजना सम्पन्न गर्नेलाई पुरस्कृत गरिनेछ, ‘प्रधानमन्त्री’

असोज १५, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयभन्दा पहिला आयोजनाको काम सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने बताउनु भएको छ ।
कैलालीको रानी जमरा कुलरिया सिंचाई आयोजनाको स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीले भन्नुभयो, ‘समयमै काम सम्पन्न हुुनुपर्दछ । हामीले तोकिएको समयभन्दा छिटो आयोजना सम्पन्न गर्ने संस्कार र सोंचको विकास गर्न जरुरी छ । समयभन्दा छिटो आयोजना सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्नेछ । तोकिएको २ वर्षभित्र नै आयोजना सम्पन्न गर्नुस् र पुरस्कृत भएर नमूना पेश गर्नुहोस् ।’
प्रधानमन्त्रीले समयभन्दा अघि नै विकासका काम सम्पन्न गर्ने सोंचको विकास गर्नु राष्ट्रिय चुनौति भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘युद्धस्तरमा काम गरौं । यो राष्ट्रिय गौरवको आयोजना हो, यसले देशलाई गौरवको अनुभूति दिलाउन सक्नुपर्छ । यो आयोजनाले नेपालमा ठूलो आर्थिक क्रान्ति ल्याउनेछ । यो कुरालाई गम्भीरतापूर्वक लिनुहोला ।’
निरीक्षणका क्रममा प्रधानमन्त्रीले सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशित दिँदै भन्नुभयो, ‘राजनीतिले छलाङ हान्यो, प्रशासनले त्यसलाई पछ्याउन सक्नुपर्छ । कर्मचारीतन्त्रले देशको स्थायित्व र सुशासनको प्रत्याभूति गराउन सक्नुपर्छ । ठूला चाडहरुमा जनताले सास्ती भोग्नु नपरोस् । केन्द्रले बनाएका योजना दृढतापूर्वक कार्यान्वयन गर्न निर्देशित गर्दछु ।’
कैलालीको चिसापानीमा रहेको रानी जमरा कुलरिया सिंचाई आयोजना नेपाल सरकार र विश्व बैंकको संयुक्त लगानीमा सञ्चालित आयोजना हो । आयोजना प्रमूखले दिएको जानकारी अनुसार २०७५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखेको यो आयोजनाको ५८ प्रतिशत काम सम्पन्न भइसकेको छ भने यो आयोजनाले विद्युत सञ्चालनको पनि लक्ष्य राखेको छ । आयोजनाको काम रफ्तारमा अगाडि बढ्ने र २०७५ सालभित्रै आयोजना सम्पन्न हुने कार्यक्रममा जानकारी दिइयो ।