प्रधानमन्त्रीद्वारा प्युठान लुङको पहिरोको निरीक्षण

प्रधानमन्त्रीद्वारा प्युठान लुङको पहिरोको निरीक्षण

असोज १५, प्युठान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार र श्रावण महिनामा गएको प्युठान जिल्लाको लुङ गाबिस, ६ बहानेमा गएको पहिरोको स्थलगत निरीक्षण गर्नुभएको छ ।
शनिबार बिहान नेपाल एयरलाइन्सको हेलिकोप्टरबाट प्युठान पुग्नुभएका प्रधानमन्त्रीले पहिरोको स्थलगत निरीक्षण गर्नुभएको हो । स्थानीय पीडितसँगको भेटघाटपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुको पीडामा साथ दिन म प्युठान आएको छु । मैले सरकारको नेतृत्व गरेदेखि नै बाढी पहिरो पीडितलाई भूकम्प पीडित सरह राहत दिने निर्णय गरिएको छ । यसको छिटो कार्यान्वयन हुनेछ । लुङको पहिरो नियन्त्रण, राहत र पूनर्बासका लागि सरकारले गम्भीर रुपमा काम गर्नेछ ।’ प्रधानमन्त्रीले सरकार जनताको पक्षमा काम गर्न आतुर रहेको जानकारी दिँदै पीडितले सरकारको अनुभूति गर्ने गरी काम गर्ने विश्वास दिलाउनुभयो ।
निरीक्षणमा पूर्वअर्थमन्त्री तथा माओवादी नेता वर्षामान पुन, पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा, माओवादी नेता कृष्णध्वज खड्का, प्युठानका प्रमूख जिल्ला अधिकारी जनकराज पन्त लगायतको उपस्थिति रहेको थियो ।
गत असारमा प्युठान जिल्लाको लुङ गाबिसको बहाने भन्ने ठाउँमा गएको पहिरोमा परी ५६ जना व्यक्तिको ज्यान गएको थियो भने २४८ घर पूर्ण रुपमा क्षति भएको थियो । हाल ८०० भन्दा बढी घर उच्च जोखिममा रहेको, ५६ विद्यालय जोखिममा रहेको, सडक सञ्जाल क्षतिग्रस्त भएको जानकारी दिँदै प्रजिअ पन्तले केन्द्रीय योजनामै पहिरो नियन्त्रण र पूनर्बास आवश्यक रहेको बताउनुभयो ।