युएईका राजदूतद्वारा प्रधानमन्त्रीलाई उर्जा सम्मेलनको निम्तो

युएईका राजदूतद्वारा प्रधानमन्त्रीलाई उर्जा सम्मेलनको निम्तो

कार्तिक ११, काठमाडौं । नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वल्र्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गर्नु भएको छ ।
राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताउनुभयो । प्रधानमन्त्रीले निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू ईच्छुक रहेको बताउनुभयो ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल–युएई बीचको सम्बन्ध र द्वीपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न राजदूत नक्वीको ध्यानाकर्षण गराउनु भएको थियो ।
भेटमा राजदूत नक्वीले नेपाल र युएई पुराना मित्र भएको भन्दै दुई देशको सम्बन्ध प्रधानमन्त्रीको चासोबारे आफू युएई फर्केर छलफल गर्ने बताउनु भयो ।