आधुनिक कृषि र अनुसन्धानका लागि लगानी बढाउनुपर्छ, ‘प्रधानमन्त्री’

आधुनिक कृषि र अनुसन्धानका लागि लगानी बढाउनुपर्छ, ‘प्रधानमन्त्री’

भदौ २८, काठमाडौं । प्रधानमन्त्री एवं कृषि तथा बन विश्वविद्यालयका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिको आधुनिकीकरण र अनुसन्धानका लागि लगानी बढाउनुपर्ने बताउनु भएको छ ।
मंगलबार कृषि तथा बन विश्वविद्यालयको पाँचौं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘जनता र राष्ट्रको चाहना आर्थिक समृद्धि नै हो । आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने प्रमूख आधार कृषि, बन, पशुपालन र पर्यटनको क्षेत्र नै हो । यसका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण र अनुसन्धानमूलक बनाउनुपर्छ, आधुनिकीकरण र अनुसन्धानका लागि लगानी बढाउनुपर्छ । सरकार आवश्यक सहयोग गर्न तत्पर छ ।’
प्रधानमन्त्रीले सबै विश्वविद्यालयको नीति निर्माण र समन्वयका लागि छाता ऐन आवश्यक रहेकोमा जोड दिनुभयो । सभामा शिक्षामन्त्री एवं सहकूलपति धनीराम पौडेलले अबको शिक्षाले प्रविधिमा जोड दिनुपर्ने बताउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, आर्थिक र नीतिगत समस्या समाधानमा शिक्षा मन्त्रालयले सहजीकरण गर्ने बताउनुभयो ।
सभाले नियमित कार्यक्रमका साथसाथै कृषि तथा बन विश्वविद्यालय ऐन २०६७ मा संशोधनका लागि नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्ने, संगठन र शैक्षिक नियमावली संशोधन, शिक्षक तथा कर्मचारी नियमावली संशोधन, आर्थिक प्रशासन नियमावली संशोधन, आर्थिक वर्ष २०७२÷०७३ को खर्च अनुमोदन र आर्थिक वर्ष २०७३÷०७४ को बजेट प्रस्ताव पारित गरेको छ ।