बकर ईदमा प्रधानमन्त्रीको शुभकामना सन्देश

बकर ईदमा प्रधानमन्त्रीको शुभकामना सन्देश

भदौ २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्वीहरुको ठूलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना सन्देश जारी गर्नुभएको छ ।
प्रधानमन्त्रीले मंगलबार साँझ जारी गर्नुभएको शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताउनुभएको छ । सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै हाम्रो विशेष पहिचान हो । बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् । जनताको लामो संघर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरुको सम्बोधन तथा नयाँपनलाई समेत अबलम्वन गर्ने आधार निर्माण संविधानमा गरेका छौँ ।अन्य कुराको अतिरिक्त राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्थाले मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’