छाउपडीका कारण ज्यान गएको घटनाबारे प्रधानमन्त्रीको चासो

छाउपडीका कारण ज्यान गएको घटनाबारे प्रधानमन्त्रीको चासो

मंसिर ४, काठमाडौं । अछामको तिमिल्सेन गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षे महिलाको ज्यान गएको घटनाप्रति प्रधानमन्त्रीको सचिवालयले अछामका प्रमूख जिल्ला अधिकारी कुशलराज शर्मासँग टेलिफोन गरी घटनाबारे चासो लिएको छ ।
छाउपडी गोठमा बसेकी २१ वर्षीय डम्बरा उपाध्यायको मृत्यु भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले घटनाबारे चासो लिएको हो । शनिबार दिउँसो प्रधानमन्त्रीको सचिवालयले प्रमूख जिल्ला अधिकारी शर्मालाई फोन गरी घटनाको बारेमा यथार्थ जानकारी गराउन, छाउपडी प्रथाजस्तो कुरिता अन्त्यका लागि यथाशिघ्र सरोकारवालाहरुको बैठक बोलाएर जागरण अभियान सञ्चालन गर्न र सामाजिक क्षेत्रमा क्रियाशील एनजिओ, आइएनजिओहरुलाई सेमिनार र गोष्ठीमा मात्रै रकम खर्च गर्ने परिपाटी तोडेर जनचेतनामूलक कार्यमा लाग्ने वातावरण निर्देशन दिएको हो ।
टेलिफोनमा प्रमूख जिल्ला अधिकारी शर्माले घटनाको यथार्थ बुझेर आवश्यक जानकारी गराउने बताउँदै छाउपडी प्रथा अन्त्यका लागि आफ्नो तर्फबाट सरोकारवालाहरुको बैठक बोलाएर प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।