साउदीबाट उद्दार गरिएका आचार्यले दिए प्रधानमन्त्रीलाई धन्यवाद

साउदीबाट उद्दार गरिएका आचार्यले दिए प्रधानमन्त्रीलाई धन्यवाद

मंसीर २, काठमाडौं । एघार महिनाअघि बैदेशिक रोजगारीका लागि साउदी अरेबियामा गएर अलपत्र परेका युवालाई प्रधानमन्त्रीको सचिवालयले उद्दार गरी नेपाल फर्काएपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी धन्यवाद दिएका छन् ।
स्याङ्जा चण्डिकालिका घर भई पोखरामा बस्दै आएका ३९ वर्षीय भोजराज आचार्य बैदेशिक रोजगारीका लागि २०७२ फागुन ७ गते साउदी अरेबियाको रियादमा गएका थिए । तर, रियादको मुसारी अल्मोसारी कम्पनि बन्द भएपछि उनी अलपत्र परेका थिए ।
अलपत्र परेका आचार्यले २ महिनाअघि प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी आफूलाई उद्दार गर्न अनुरोध गरेका थिए । आचार्यको अनुरोध र प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयले उनको परिवारलाई बोलाएर उद्दारको प्रक्रिया अगाडि बढाएको थियो । सचिवालयले श्रम र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी १४ नोभेम्वरमा आचार्यलाई नेपाल ल्याइएको थियो ।
बिहीबार आचार्यले प्रधानमन्त्रीलाई सिंहदरबारमा भेटी आफूलाई बचाएर नेपाल ल्याएकोमा प्रधानमन्त्री, नेपाल सरकार र प्रधानमन्त्रीको सचिवालयलाई धन्यवाद दिए । भेटमा आचार्यले भने, ‘प्रधानमन्त्रीज्यू र हजुरको सचिवालयले प्रयास नगरेको भए म बाँचेर नेपाल आउन सम्भव नै थिएन । मलाई बचाएकोमा हजुरलाई धन्यवाद दिन मात्र म आएको हुँ ।’
भेटमा प्रधानमन्त्रीले सरकार विदेशमा रहेका नेपालीहरुका समस्याप्रति संवेदनशील रहेको भन्दै अब उच्च मनोबलका साथ नेपालमै काम गर्न आचार्यलाई आग्रह गर्नुभयो ।