बझाङ्को सर्वदलीय टोलीद्वारा प्रधानमन्त्रीसँग भेट

बझाङ्को सर्वदलीय टोलीद्वारा प्रधानमन्त्रीसँग भेट

मंसिर २, काठमाडौं । बझाङबाट आएको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी जिल्लाका विकास निर्माण र जनजीविकाका सवालमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सर्वदलीय टोलीले डढुवा रोगका कारण जिल्लाका अधिकांश स्थानको खाद्यान्न उत्पादनमा ह्रास आएको भन्दै कामका लागि खाद्यान्न कार्यक्रममा बझाङ जिल्ला पनि समावेश गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । टोलीले जिल्ला दैवी प्रकोप कोषमा रकमको अभावले तत्काल उत्पन्न हुने समस्या सम्बोधन गर्न नसकिएको भन्दै केन्द्रीय दैवी प्रकोप समितिबाट थप बजेटको व्यवस्था गरी दिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
भेटमा प्रधानमन्त्रीले प्रतिनिधि मण्डलले उठाएका माग जायज र संवेदनशील रहेको भन्दै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर यसबारे छलफल गर्ने र चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग कुरा गर्ने बताउनुभयो ।