संघीय प्रणालीमा सरकारका तहहरुबीच दोहोरो कर लाग्दैन : प्रधानमन्त्री

संघीय प्रणालीमा सरकारका तहहरुबीच दोहोरो कर लाग्दैन : प्रधानमन्त्री

चैत २८, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने बताउनु भएको छ ।
आज बिहान काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा सून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने बताउनु भयो । उहाँले संघीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रकृयागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने विश्वाससमेत दिलाउनु भएको छ ।
प्रधानमन्त्रीले आफू नेतृत्वमा सरकार बने पछि आर्थिक परिसूचकहरु सकारात्मक दिशामा अघि बढेको, उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युतको कुशल व्यवस्थापन गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको, देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न वाफिया सम्वन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनस्र्थापना गर्ने र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक हडलहरु हटाउने लगायत थुप्रै कार्यहरु अगाडि वढाइएको जानकारी दिनु भयो ।