नेपाली सेनाको आयूक्त पद प्रदान कवाजमा सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधन

नेपाली सेनाको आयूक्त पद प्रदान कवाजमा सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधन

माननीय रक्षा मन्त्री ज्यू,
नेपाली सेनाका प्रधान सेनापति,
रक्षा  सचिव,
सम्पूर्ण राष्ट्रसेवकहरु,
नव आयूक्त क्याडेट अधिकृतहरु,
उपस्थित भद्र महिला तथा सज्जनवृन्द
सञ्चारकर्मी मित्रहरु ।

नव आयूक्त क्याडेट अधिकृतहरु, तपाईहरु आज गौरवमय इतिहास र प्रशंसनीय प्रतिष्ठा बोकेको विशिष्ट संस्था, नेपाली सेनाको अधिकृत पदमा आयूक्त हुन लाग्नुभएको छ । चौबिस महिनाको  निरन्तर तथा अथक प्रयास र तपाईहरुको दृढ समर्पण, लगन र मेहनत पश्चात् अधिकृत क्याडेट तालिम सफलतपूर्वक सम्पन्न गरी नेपाली सेनाको योग्य अधिकृत बन्न सफल हुनुभएको छ । यस विशिष्ट क्षणमा तपाईहरुबाट भर्खरै प्रदर्शन गरिएको अत्यन्त फूर्तिलो र व्यावसायिकता झल्काउने कवाजको लागि  म तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, नेपाली जनता र प्रचलित संविधानको रक्षा गर्ने प्रमुख दायित्व र गहन जिम्मेवारी बोकेको नेपाली सेनाको सहायक सेनानी दर्जामा आयूक्त हुन लाग्नु भएको यस पावन अवसरमा तपाईहरु सवैलाई हार्दिक बधाई दिन चाहन्छु । साथै, यस समारोहमा सरिक हुन पाएकोमा म आफूलाई समेत गौरवान्वित ठानेको छु ।

नेपाली सेनाले संबैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित र विकसित गरी अनुकरणीय उदाहरण प्रस्तुत गर्दै आईरहेको छ । नेपाली सेना नेपाली जनतासंग कांधमा कांध मिलाउदै अहोरात्र जनसेवामा समर्पित भई नागरिकको मौलिक हक एवं अन्तर्राष्ट्रिय मानवीय कानून तथा मानव अधिकारको रक्षार्थ कटिबद्ध रहँदै आएको छ । आफ्नो पेशासँग मात्र आवद्ध नभई नेपाली जनता र मुलुकप्रति सदा सर्वदा समर्पित र प्रतिवद्ध रहँदै राष्ट्रिय विपत्ति र संकटका घडीहरुमा समेत अग्रस्थानमा रही इमान्दार र पेशेवर ढंगबाट परिचालित भई आफ्नो उत्कृष्टता प्रदर्शन गर्न सक्षम रहेका छ ।
यसका अलावा नेपाली सेनाले देशका विकास योजनाहरुमा समेत आफूलाई अग्रसर गराई राष्ट्र निर्माणका कार्यहरुमा निरन्तर खट्टिई उच्चतम योगदान दिंदै आईरहेको छ ।

नेपाली सेनाले, राष्ट्र र राष्ट्रवासीका खातिर सगर्व समर्पित रहनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शान्ति स्थापना गर्ने कार्यमा अनूकरणीय योगदान दिदै नेपाल र नेपालीको पहिचान र साहसलाई विश्व सामू परिचित गराउन कुनै कसर बांकी राखेको छैन । राज्यको निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सदैव सेवक भई आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्ने पक्षमा आफूलाई उदाहरणीय रुपमा प्रस्तुत गर्न तपाईहरु सदा सक्षम एवं सफल हुनुहोस्, यही मेरो तपाईहरुलाई शुभकामना छ ।

नेपालीहरुको साझा सम्पतिको रुपमा रहेको नेपाली सेनाको भावी अधिकृतको हैसियतले  तपाईहरु सम्पूर्णको कांधमा अब विशेष जिम्मेवारी थपिन गएकोले तपाईहरु सबैले आफूलाई समय र परिस्थितिसंग अझ प्रभावकारी तवरले प्रस्तुत गर्दै कर्तव्यपथमा अगाडि बढनुहुनेछ भन्नेमा म पूर्ण आशावादी छु । नेपाली सेनाको व्यवसायिक उत्कृष्टताको संचार अब हामी बीच मात्र सीमित नभई विदेशी सेनाको माझ समेत अनूकरणीय बनेको कुरा हाम्रा शिक्षण संस्थानहरुमा हालैका दिनहरुमा भएका विदेशी शिक्षार्थी आदान प्रदानबाट प्रष्ट हुन्छ । यो कार्य नेपाली सेनाको व्यवसायिक प्रभावकारीता र विश्वासको उपज हो भन्ने मलाइ लाग्दछ ।

नेपाली सेनाको सेनामूख तहको नेतृत्व सम्हाल्ने चुनौतिपूर्ण दायित्व वहन गर्न तपाईहरुले यस प्रतिष्ठानमा प्राप्त गरेको उच्चस्तरको ज्ञानलाई समय सापेक्ष व्यवहारमा उतारी दृढ निश्चयी भई इमान्दारीपूर्वक मातृभूमि र लोकतन्त्रको रक्षा र सेवा गर्ने कार्यमा आफ्नो पाईलाहरुलाई गति दिन सक्षम हुनुहुनेछ । साथै आफ्नो सैनिक जिम्मेवारी, बफादारी र अनुशासनलाई हृदयंगम गरी गौरवशाली इतिहास बोकेको नेपाली सेनाको अधिकृतको रुपमा आफ्नो दायित्व र जिम्मेवारीप्रति सदैब सजग, सतर्क र कर्तव्यनिष्ट रही आत्म बलिदान गर्नु परेमा पनि कर्तव्यपथमा सदैब अडिग रही समर्पित हुनुहुनेछ  भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।

नेपाली सेनाको अधिकृतको रुपमा अबदेखि तपार्इंहरु सबैले शिरमा ज्ञान र समझदारी, कांधमा सेवा र जिम्मेवारी तथा हृदयमा अदम्य साहस र नेतृत्व राखी भविष्यमा राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सेवामा आफ्नो जीवन उत्सर्ग गर्न कटिबद्ध हुनुहुनेछ । साथै यस अवसरमा नेपाली सेना जस्तो पबित्र संस्थामा प्रवेश गर्न तपाईहरुलाई अभिप्रेरित गर्ने तपाईका अभिभावक र आफन्तजनहरु सबैप्रति म आभार प्रकट गर्दछु ।

अन्त्यमा, आजका दिनदेखि सहायक सेनानी दर्जामा नियुक्त हुन लाग्नु भएकोेमा नव आयुक्त अधिकृतहरुलाई पुनः बधाई दिंदै तपाईहरुको उज्वल भविष्य, उत्तरोत्तर प्रगति एवं सफलताको कामना गर्दछु । साथै, यस नेपाली सैनिक प्रतिष्ठानको आदर्श वाक्य “‘ज्ञान, सेवा, नेतृत्व”’ अनुरुप प्रशिक्षण दिई नेपाली सेनाको सूयोग्य, कर्मठ, इमान्दार, कर्तव्यनिष्ट र अनुशासित अधिकृतहरु उत्पादन गर्नु भएकोमा यस प्रतिष्ठानका शिक्षाधिकृत लगायत सम्पूर्ण अधिकृत, पदिक तथा अन्य दर्जाका शिक्षक वर्ग तथा बौद्धिक ज्ञान अभिवृद्धि गर्दै शैक्षिक अध्यापन तर्फ निरन्तर रुपमा योगदान पु¥याउनु हुने डिन तथा प्राध्यापक वर्गहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आजको यस उल्लासमय समारोह सफल बनाउन योगदान पु¥याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद