भारतीय राष्ट्रपतिको नेपाल भ्रमण सद्भाव भ्रमण हो, ‘प्रधानमन्त्री’

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण सद्भाव भ्रमण हो, ‘प्रधानमन्त्री’

कार्तिक २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमण सद्भाव भ्रमण भएको बताउनु भएको छ । नेपाल टेलिभिजनबाट हरेक शनिबार प्रशारण हुने कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्री’सँग कार्यक्रममा २०७३ कार्तिक २० गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्वार्ताको क्रममा उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले व्यक्त गर्नुभएको धारणाका मूख्य बुंदा—प्रधानमन्त्रीको स्वकीय सचिवालय ।
— छठ पर्वको अवसरमा मधेशी समुदाय र देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यस पर्वले राष्ट्रिय सहमतिको वातावरणका लागि सकारात्मक भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।
— १८ वर्षपछिको भारतीय राष्ट्रपति महामहिम प्रणव मूखर्जीको नेपाल भ्रमण आफैमा महत्वपूर्ण परिघटना हो । भ्रमण सफल बनाउने दायित्व हामी सबैको थियो, जुन हामीले पुरा गरेका छौं । उहाँ निकै प्रशन्न भएर फर्कनुभएको छ । सफल भ्रमण र फलदायी भएको छ । २ देशका सरकार र जनताको सम्बन्ध हार्दिक बनाउन भ्रमण महत्वपूर्ण रह्यो । अहिलेको भ्रमण सद्भाव भ्रमण मात्रै थियो । नाफा घाटा भन्दा पनि दुई देशको सम्बन्ध सुदृढीकरणका दृष्टिले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण महत्वपूर्ण भयो । यसले विश्वभरि सन्देश दिएको छ । नेपालले उच्चस्तरीय भ्रमणको आयोजना गर्न सक्षम छ भन्ने सन्देश गएको छ । नेपाल सरकारको क्षमताको पुष्टि भएको छ । भ्रमण व्यवस्थित, अनुशासित र सक्षमतापूर्वक पुरा भएको छ । यो भ्रमणले चीनियाँ राष्ट्रपतिको भ्रमणलाई सकारात्मक सन्देश पनि गएको छ ।
— भारत भ्रमणमा व्यापार घाटा र आयोजनाका बारेमा कुरा भएको छ । विगतका सबै समस्या समाधानको प्रयत्न भएको छ । राष्ट्रपति आउँदा कुनै सम्झौता गर्ने एजेण्डा थिएन । १९५० को सन्धिबारे प्रवुद्ध समूहले तयारी गरिरहेको छ । यसले सबै सन्धिको पुनरावलोकन गर्नेछ । तसर्थ, त्यस विषयलाई अहिले भ्रमणको एजेण्डा बनाउन आवश्यक ठानिएन ।
— भारतीय राष्ट्रपतिको भ्रमणका क्रममा नेपालको समग्र स्थिति र नेपाल—भारत सम्बन्धबारे खुलेर कुरा भयो । सबै नेताहरुले खुलेर छलफल गर्ने अवसर मिल्यो । त्रीदेशीय साझेदारी धेरै वर्षदेखि उठाएको प्रश्न हो । गोवामा पनि त्रीदेशीय साझेदारी कुरा भएको छ । यसमा भारत पनि विपक्षमा छैन । त्रीदेशीय समझदारीमा भारत र चीन दुवैको सकारात्मक प्रतिक्रिया नै थियो । भारतले त्रीदेशीय समझदारी राम्रो हो । तर, कार्यान्वयन गर्ने समय आइपुगेको छैन भन्ने प्रतिक्रिया दिएको थियो । चीनको त समर्थन नै थियो । भारतीय राष्ट्रपतिको भ्रमणका बेला पनि त्रीदेशीय समझदारीको कुरा गरेको छु । मलाई विश्वास छ, यो प्रस्ताव अगाडि जान्छ ।
— भारतीय राष्ट्रपति नेपाल आउने कार्यक्रम पहिले नै तय भएको हो । भ्रमणको निम्तो सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । अतिथिलाई सम्मान गर्नु अराष्ट्रवाद हो भने मेरो भन्नु होइन । आफै अतिथि बोलाएर अपमान गर्ने सोंच राम्रो होइन । मैले जिम्मेवारीपूर्वक काम गरें । मैले देशको ईज्ययत बढाउने गरी जिम्मेवारी पुरा गरेकोमा खुसी छु । भ्रमणबारेका अरु टिकाटिप्पणीबारे म अहिले केही भन्दिनँ ।
— केही समय अघि म भारतको राजकीय भ्रमणमा गएँ । म त्यहाँ जाँदा पनि भारतको यातायात ठप्प पारिएको थियो । त्यहाँ पनि बाटो खाली गरिएको थियो, यात्रुहरु कुरेर बसेका थिए । यो विश्वभरिकै प्रचलन हो । हामीले विश्वभरको प्रचलन मानेका मात्र हौं । हामीले छुद्र टिप्पणी गरेर अन्तर्राष्ट्रिय सम्बन्ध र मान्यतालाई बिर्सन खोजेका त होइनौं ? यस्तो छुद्रतापूर्ण टिप्पणी राम्रो हुँदैन ।
— भारतीय राष्ट्रपति आउँदा बिदा दिने कि नदिने भन्नेबारे राष्ट्रपति समेतको उपस्थितिमा छलफल भएको हो । परराष्ट्र र सुरक्षाका अधिकारीहरुको पनि राय आएपछि सम्मान र व्यवस्थापन दुवैका दृष्टिले सही हुन्छ भन्ने मानेर बिदा गरेको हो । यसले देशलाई कुनै घाटा भएको छैन । सम्बन्धलाई सुदृढ गर्न मद्दत नै पुगेको छ । काठमाडौंमा मात्रै गर्न सकिन्थ्यो भन्ने कुरामा म सम्मान गर्छु । तीतो टिप्पणी गर्ने साथीहरुले अरु सम्मानित संस्थाहरुलाई बचाउनुभयो, त्यसैमा खुसी छु ।
— भारतीय राष्ट्रपतिले हाम्रो राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिनुभएको छ । हामी सल्लाह गरेर राष्ट्रपतिजीको भारत भ्रमणको समय तय गर्छाैं । गोवामा भएको छलफलमा चीनियाँ राष्ट्रपतिले प्रष्ट भाषामा नेपाल आउँछु भन्नुभएको छ । म विश्वस्त छु, समय अलिकति लाग्ला । तर, चीनियाँ राष्ट्रपतिको भ्रमण हुन्छ ।
— भुटानी प्रधानमन्त्रीसँग भुटानी शरणार्थी, कनेक्टिभिटी, यातायात लगायतका विषयमा कुरा भएको छ । गोवामा भएको भेटमा भुटानी शरणार्थी समस्याबारे मैले गम्भीरतापूर्वक कुरा राखेको छु । भुटानी प्रधानमन्त्रीले नेपालले गरेको प्रस्तावलाई गम्भीर रुपमा लिन्छु भन्नुभएको छ, शरणार्थी लैजान्छु नै भनेर भन्नुभएको छैन ।
— सरकारले युवाहरुलाई रोजगारी दिनेबारेमा नयाँ योजना सोच्दैछ । सरकारले यसबारे नयाँ सोच बनाउँदैछ । हामी यसलाई गम्भीरपूर्वक लिएका छौं । संसदमा मैले गरीबका लागि सरकार, युवा स्वरोजगार कार्यक्रम, जनता पेन्सन लगायतका कुराहरु मैले घोषणा गरेको छु । अब हामी कार्यान्वयनको प्रक्रियामा छौं, छिटै नतिजा आउँछ । यसले फेरि जनतामा नयाँ उत्साह आउँछ ।
— संविधान संशोधनको तयारी सरकारको नेतृत्व लिएदेखि नै भइरहेको छ । सरकारले प्रारम्भमा वातावरण बनाउनेतिर सोच्यो । आन्तरिक एकता सुदृढ गर्ने, संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने मेरो हुटहुटी थियो । मेरो तिव्रतापूर्वक अगाडि जाने मनसाय थियो । आन्तरिक तयारी, सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी समेतसँग छलफल गरेर टुंगाउन लाग्दा समय लाग्यो । मैले सरकारमा सहभागी दलहरुको म्याण्डेड लिएको छु । पूर्ण सहमति नभएपनि संघीय गठबन्धनको पनि संशोधन प्रस्ताव दर्ता गर्दा हुन्छ भन्ने कुरा आएको छ । म्याण्डेड पाएको छु, मिलेर पारित गरेर जान्छौं ।
— राष्ट्रिय मुद्धाहरुमा समझदारी बनाउन मेरो जोड हुने गरेको छ । हामीले सबै मुद्धाहरुको मिलेर किनारा लगाउँछौं । महाअभियोग पनि समझदारी भएर टुंगिन्छ । त्यसमा अब शंका गर्ने ठाउँ छैन । सबैको समझदारी जुट्छ । अख्तियारलाई सरकारले अझ प्रभावकारी र पारदर्शी बनाउँछ । महाअभियोगले अख्तियार कमजोर हुँदैन, झन् बलियो हुन्छ ।
— सरकारले यसपटक ठोस काम नै गर्दैछ । हेटौडा कपडा उद्योग लगायतका उद्योगहरु सञ्चालन हुँदैछ । हामीले छिटै सञ्चालन गर्छाैं । त्यसैगरी नेपाल औषधि लिमिटेडले आधारभूत औषधि छिटै उत्पादन गर्छ । राष्ट्रिय उद्योगहरु प्रवद्र्धन गर्ने हाम्रो संकल्प छ, यसमा हामी प्रभावकारी रुपमा अघि जान्छौं ।