बत्तीले अध्याँरो नछिचोलेको जनगुनासोतिर सोचौं,‘प्रधानमन्त्री’

बत्तीले अध्याँरो नछिचोलेको जनगुनासोतिर सोचौं,‘प्रधानमन्त्री’

असोज १२, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बत्तीमूनि अध्याँरो हुन्छ भनेर बत्तीले अध्याँरो छिचोल्न नसकेको कुराप्रति आँखा नचिम्लन आग्रह गर्नुभएको छ । बुधबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थलगत निरीक्षण र बिरामीहरुसँगको भेटपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘बत्तीमूनि अध्याँरो हुन्छ भन्ने सर्वमान्य कुरा हो । तर, बत्तीमूनि अध्याँरो हुनु र बत्तीले अध्याँरो छिचोल्न नसक्नु एउटै कुरा होइन । बत्तीले अध्याँरो छिचोल्न नसकेको जनगुनासो सम्बोधनतिर ध्यान दिन विशेष अनुरोध गर्दछु । प्रधानमन्त्रीले थप्नुभयो, ‘यस क्यान्सर अस्पतालमा बिरामीको चाप निकै बढेको छ । तर, बढेको चापअनुसार पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था हुन सकेको छैन । यसलाई मैले गम्भीर रुपमा लिएको छु । म यसको गुणस्तर सुधार र समस्या समाधानमा आवश्यक पहल गर्नेछु । तर, जनताको भावना र पीडामा कत्ति पनि हेलचक्राई नगर्नुहोला ।’ सम्बोधनमा प्रधानमन्त्रीले क्यान्सर अस्पताल चीनियाँहरुको सहयोगमा स्थापना भएको स्मरण गर्दै यसबारे चीनियाँ प्रधानमन्त्रीसँग कुरा गर्ने बताउनुभयो । निरीक्षणका क्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकले अस्पतालको भौतिक एवं मानवीय अवस्था र समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो । बुधबार नै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रचण्डले चितवनका माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘चुनौतिपूर्ण अवसरको रुपमा मैले सरकारको मोर्चा सम्हालिरहेको छु । जनता र राष्ट्रको पक्षमा काम गर्न यो हाम्रा लागि अवसर पनि हो । तपाईहरु सबै जनतातिर फर्किएर जनताको सेवामा लाग्न म अध्यक्षको तर्फबाट निर्देशित गर्दछु ।’ निरीक्षणका क्रममा प्रधानमन्त्रीले अस्पतालका बिरामी, बिरामीका आफन्तजन र सर्वसाधारणसँग संक्षिप्त अन्तरक्रिया गरी समस्याबारे जानकारी लिनुभएको थियो । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री अमिक शेरचन, नेताहरु नारायण दाहाल लगायतका उपस्थिति रहेको थियो ।