जनताको आकांक्षाअनुसार सेवा प्रवाह गरौं, ‘प्रधानमन्त्री’

जनताको आकांक्षाअनुसार सेवा प्रवाह गरौं, ‘प्रधानमन्त्री’

असोज १२, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आकांक्षा बुझेर, जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
बुधबार चितवन जिल्लामा अवस्थित सरकारी कार्यालयका प्रमूखहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्रीले जनताको आकांक्षाअनुसार काम गर्न निर्देशन दिँदै भन्नुभयो, ‘जनताको कर्मचारी प्रशाासनलाई हेर्ने नजर अहिले पनि राम्रो बन्न सकेको छैन । जनताले हाम्रै कर्मचारी हुन्न भन्ने अनुभूति हुने गरी काम गर्नुस् । जनतालाई केन्द्रमा राखेर काम गर्नुस् ।’
निर्देशनमा प्रधानमन्त्रीले भन्नुभयो, ‘धेरै कुरा गर्नुभन्दा पनि परिणाममूखी काम गरौं । राजनीतिक घोषणाको तहमा धेरै माथि आएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र सामान्य कुरा होइन । तर, जनताको जीवनमा परिवर्तन ल्याउन हामीले धेरै मेहेनत गर्नुपर्ने छ ।’
प्रधानमन्त्रीले भन्नुभयो, राजनीतिक तिब्रता र प्रशासन संयन्त्रको काम गर्ने तरिकामा अन्तरविरोध छ । यसले कतिपय जटिलता ल्याएको छ । राजनीति र प्रशासन एक अर्काका परिपुरक बनेर जानुपर्छ । तर, कमाण्ड राजनीतिको हुन्छ । राजनीति तिब्रतामा हुन्छ । तर, प्रशासनको आफ्नै ट्रेन हुन्छ । राजनीतिको रफ्तारलाई बुझ्ने गरी प्रशासनिक कामलाई बदल्न जरुरी छ ।’
सरकार दण्ड र पुरस्कारको व्यवस्था सहित प्रशासन सुधारमा लागेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने प्रणालीको विकास गर्नेतिर सोच्नुपर्छ । मैले यसबारे संसदमा पनि बोलेको छु । राम्रो गर्नेलाई सम्मान, पुरस्कृत र समाजमा स्थापित गर्ने र नराम्रो गर्नेलाई दण्डित गरेर जानुपर्छ । हाम्रो प्रतिस्पर्धा नराम्रोको लागि हुने संस्कार छ । यसलाई बदल्नुपर्छ । समयभन्दा अगाडि नै राम्रोभन्दा राम्रो काम गर्नेतिर सोच्नैपर्छ ।’