प्रधानमन्त्री र विश्व बैंकका कन्ट्री डाइरेक्टरबीच भेट

प्रधानमन्त्री र विश्व बैंकका कन्ट्री डाइरेक्टरबीच भेट

असोज ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व बैंकका नेपाल, भुटान र बंगलादेशका कन्ट्री डाइरेक्टर क्युमियो फ्यानबीच भेटबार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालको आर्थिक विकासमा विश्व बैंकले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । भेटमा प्रधानमन्त्रीले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्पको पूनर्निर्माणका क्षेत्रमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल ईच्छुक रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘विश्व बैंकले नेपालको भौतिक र मानवीय विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छौं । नेपालको पूनर्निर्माण, उच्च शिक्षा, स्वास्थ्य, भौतिक विकासका लागि विश्व बैंकको थप सहयोग र साझेदारीका लागि नेपाल ईच्छुक रहेको छ ।’
प्रधानमन्त्रीले भूकम्पको पूनर्निर्माण सम्बन्धि विश्व बैंकको नीतिमा सहजीकरण गरी नेपाल सरकारको पूर्वाधार विकासको नीतिअनकूल बनाउन पनि फ्यानसँग आग्रह गर्नुभएको थियो ।
भेटमा डाइरेक्टर फ्यानले नेपालको उर्जा, जलविद्युत्, ट्रान्समिसन लाइन, सेलार लगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिँदै विश्व बैंकको अलावा आइडिए र आईएससीको नेपाललाई सहयोग रहने जानकारी दिनुभयो ।