नेपालको शान्ति प्रक्रिया बिश्वकै सफल नमूना : प्रधानमन्त्री

नेपालको शान्ति प्रक्रिया बिश्वकै सफल नमूना : प्रधानमन्त्री

चैत्र १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया बिश्वकै लागि नमूना भएको बताउनु भएको छ ।
आज विहान म्यानमारको शान्ति टोली र नेपालस्थित इन्ट्रिस्च्यूड अफ क्राइसिस् म्यानेजमेन्ट स्टडिजद्वारा आयोजित कार्यक्रममा शान्ति प्रक्रियाका अनुभवहरु प्रस्तुत गर्दै प्रधानमन्त्रीले भन्नुभयो ‘नेपालको शान्ति प्रक्रिया सफल शान्ति प्रक्रियाको कोटीमा पर्दछ । यद्धपि यसका सबै प्रक्रिया अझै सफल भइसकेका छैनन् । तर, यसका मुलभूत रुपमा दुई पक्ष हुन्, यी दुबैमा हामी सफल भएका छौं । हाम्रा अनुभव मौलिक छन् । अरु देशको नक्कल छैनन । राजनीतिक रुपमा राजतन्त्रात्मक संसदीय व्यवस्था अन्त्य भई संघीय लोकतान्त्रि गणतन्त्र स्थापना भएको छ । संविधानसभावाट नयाँ संविधान बनेको छ, नयाँ संविधानमा राजनीतिक उपलब्धीहरु संस्थागत भएका छन् । यसैगरी अर्को धेरै कठिन कार्य फौजी तथा प्राविधिक पाटो थियो, जसलाई हामीले बिश्वका अरु देशका तुलनामा तुलनात्मक रुपमा सहज र सजिलै म्यानेज ग¥यौ ।’
प्रधानमन्त्रीले नेपाल र म्यानमारबीच असल मित्रताको सम्बन्ध रहेको बताउँदै त्यहाँ सुरु भएको युद्ध विराम र शान्ति वार्ता निष्कर्षमा पुग्ने बिश्वास व्यक्त गर्नु भयो । उहाँले हरेक देशका शान्ति प्रक्रियाका आफ्नै विशेषता र मौलिकता हुने बताउँदै तिनलाई हुबहु अर्को देशमा लागू गर्न नसकिने स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्रीले राजनीतिक उद्देश्य भएका आन्दोलन वार्ताका माध्यमवाट हल हुन सक्ने बताउँदै राजनीतिक उद्देश्य नभएका र जनताको जीवन ब्यावहारसँग प्रत्यक्ष जोडिने माग नभएका द्वन्द्व भने अपराधिक गतिविधि मात्र हुने प्रष्टाउनु भयो । उहाँले विकसित देशमा यति ठूलो शान्ति प्रक्रिया भएको भए धनी देशहरुले त्यसको ब्यापक प्रचार र नायकहरुलाई स्थापित गर्ने थिए, तर नेपाल जस्तो सानो र गरिव देश भनेर उनीहरुले यति ठूलो नमूना शान्ति प्रक्रियाको प्रचार गर्न पनि हिच्किचाइरहेको बताउनु भयो ।
प्रधानमन्त्रीले एकथरी मान्छेले द्वन्द्व बढिरहोस्, कहिल्यै हल नहोस् भनेर भूमिका खेल्ने गरेको बताउँदै कुनै बाहिरी दबाव र प्रभाव विना आफ्नै स्वतन्त्र निर्णय र एकतावद्ध पहल हुनसक्यो र धैर्यतापूर्वक अघि बढियो भने द्वन्द्व समाधान हुन सक्ने बताउनु भयो ।