हलवाईको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

हलवाईको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

कार्तिक ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका लागि नेपाली दूताबासलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले सोमबार परराष्ट्र सचिव शंकरदास बैरागीलाई फोन गरी हलवाईको शव तुरुन्तै नेपाल ल्याउन निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशन लगत्तै परराष्ट्र सचिव बैरागीले नेपालका लागि साउदी अरेबियाका कार्यबाहक राजदूत आनन्द शर्मालाई टेलिफोन गरी हलवाईको शव नेपाल ल्याउनेबारे प्रधानमन्त्रीको निर्देशन अवगत गराउनु भएको थियो ।
बैरागीले प्रधानमन्त्रीको निर्देशन अवगत गराएपछि कार्यवाहक राजदूत शर्माले हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न दूताबासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने र तीन, चार दिनभित्रै शब नेपाल आउने विश्वास दिलाउनु भएको थियो ।