नेपाल लगानी शिखर सम्मेलन २०२४ को उद्‍घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको सम्वोधन

नेपाल लगानी शिखर सम्मेलन २०२४ को उद्‍घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको सम्वोधन

नेपाल लगानी शिखर सम्मेलन २०२४ को उद्‍घाटन समारोहमा

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको सम्वोधन

(२०८१ वैशाख १६, काठमाडौँ)

 

पूर्व प्रधानमन्त्रीज्यूहरू

मन्त्रिपरिषद्का सदस्यहरू

विशिष्ट प्रतिनिधिज्यूहरू

विशिष्ट अतिथिहरु

महिला तथा सज्जनवृन्द !

शुभप्रभात, नमस्कार !

सर्वप्रथम यस तेश्रो नेपाल लगानी शिखर सम्मेलन, २०२४ मा म यहाँहरू सबैलाई न्यानो स्वागत गर्न चाहन्छु। आर्थिक समृद्धि तथा दीगो विकास तर्फको हाम्रो यात्रामा आजको दिन एउटा महत्वपूर्ण अवसर हो। हामीहरु यहाँ उपस्थित भरहँदा म के कुरामा आशावादी तथा पूर्ण विश्वस्त भएको छु भने विश्वभरका लगानीकर्ताहरूका लागि असीमित अवसरहरु प्रदान गर्दै नेपाल लगानीको लागि प्रमुख उदीयमान गन्तव्य बन्दैछ।

नेपाल गौतम बुद्ध, सगरमाथा र साहसी नागरिकहरूको भूमि त हो नै, यो एउटा यस्तो देश पनि हो जसले विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्दछ। अझै उपयोग हुन बाँकी सम्भावनाहरुले भरिपूर्ण नेपाल अवसरहरुको केन्द्रमा अवस्थित छ र लगानीकर्ताहरूलाई हार्दिक स्वागत गर्दछ। उदार आर्थिक नीतिप्रतिको हाम्रो अटल प्रतिबद्धताले चलायमान तथा लगानीमैत्री व्यवसायिक वातावरणको आधार खडा गरेको छ। लगानीकर्ता, उद्यमी, अन्वेषकहरुको सहजीकरणका साथै व्यवसाय सञ्चालनको सहजताका लागि निरन्तर रुपमा आवश्यक सुधार तथा पुनर्संरचना गर्नका लागि हामीहरु दृढ प्रतिबद्ध छौँ। यसै परिप्रेक्ष्यमा नेपाल सरकारले हालै व्यवसाय तथा लगानीको क्षेत्रमा विद्यमान विभिन्न आठवटा कानूनहरुलाई संशोधन गरेको छ। मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्नका लागि लगानीकर्ताहरुको आत्मविश्वास बढाउनेछ।

उपस्थित महानुभावहरू,

शान्ति र स्थायित्वयुक्त मुलुकको रूपमा हामीले आर्थिक वृद्धि र समृद्धिको लागि उपयुक्त वातवारणको सिर्जना गरेका छौँ। संघीय शासन प्रणालीले देशभर सामाजिक तथा आर्थिक रुपान्तरणलाई प्रवर्धन गर्नेगरी सन्तुलित विकासको अवधारणालाई सुनिश्चित गरेको छ।

नेपालले विदेशी लगानीकर्ताहरूका लागि धेरै खालका प्रोत्साहनहरु उपलब्ध गराएको छ। जस अन्तर्गत सशक्त नियामक संरचना, दोहोरो करमुक्ति सम्बन्धी प्रावधान, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धी कर्पोरेट कर प्रणाली लगायतका रहेका छन् । नेपाल सरकारले हालैमात्र द्विपक्षीय लगानी सम्झौताको फ्रेमवर्क स्वीकृत गरेको छ र यसले द्विपक्षीय लगानीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। सबै मित्रराष्ट्रहरूलाई यथासक्य छिटो उक्त सम्झौतामा हस्ताक्षर गर्नका लागि पनि म अनुरोध गर्दछु।

हाम्रा उदारीकृत नीतिहरुले प्राथमिकताप्राप्त क्षेत्रहरुमा विदेशी लगानीलाई प्रोत्साहित गरेका छन् । देशमा उपलब्ध दक्ष जनशक्ति तथा सस्तो श्रम लागत अन्तर्राष्ट्रिय लगानीकर्ताको लागि आकर्षणको विषय हो। साथै सबै वैदेशिक लगानीलाई राष्ट्रिय तथा विभेदरहित व्यवहारका साथै  विदेशी मुद्रामा लगानी फिर्ताको सुनिश्चिताको व्यवस्थाहरूले समेत नेपालमा लगानीको आकर्षणलाई अभिवृद्धि गरेका छन्।

उपस्थित महानुभावहरु,

साठी प्रतिशत भन्दा धेरै जनसंख्या कामकाजी उमेर समूहमा पर्नुका साथै तिव्र रुपमा विस्तार भईरहेको मध्यमवर्गीय जनसंख्याका कारण पनि नेपालमा उपभोक्ता–सञ्चालित आर्थिक वृद्धिको अपार सम्भावना रहेको छ। यसका साथै विभिन्न विदेशी भाषाहरु बोल्नसक्ने उल्लेख्य युवा जनसंख्या सहितको हाम्रो दक्ष श्रमशक्तिले गर्दा विदेशी लगानीकर्ताहरूलाई नेपालमा उपयुक्त स्थानीय श्रमशक्ति प्राप्त गर्न सहयोग पुर्‍याउँछ।

नेपालले पर्यटन, कृषि, निर्माण, सूचना तथा सञ्चार प्रविधि, तयारी पोशाक, उच्च मूल्यका बाली तथा कृषि उत्पादन प्रोसेसिङका साथै पूर्वाधार लगायतका विविध क्षेत्रमा लगानीका धेरै अवसरहरु प्रदान गर्दछ।

हाम्रो जलविद्युत सम्भाव्यताले प्रचूर नविकरणीय तथा स्वच्छ उर्जा आपूर्तिको सुनिश्चितता गर्दछ भने पर्यटन क्षेत्रले आफ्नो सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरताले आकर्षिक गर्दछ। नेपालसँग जलविद्युत उत्पादनको व्यापक सम्भावना रहेतापनि हालसम्म केवल ३२ सय मेगावाट मात्रै उत्पादन भएको छ भने करीब ५,५६८ मेगावाटका ठूला जलविद्युत परियोजनाहरु सार्वजनिक–निजी साझेदारी प्रारुपमा निर्माणाधीन तथा कार्यान्वयनको पाइपलाइनमा छन् । यसले नेपालमा जलविद्युतको क्षेत्रमा लगानीको अपार सम्भावना रहेको प्रष्ट पार्दछ। भारत तथा चीनसँग विद्यमान तथा निर्माणको योजनामा रहेका सीमापार ट्रान्समिसन लाइनले यस क्षेत्रमा उर्जा आदानप्रदानलाई सहजीकरण गर्दछ। यस क्षेत्रमा उर्जा सहकार्यलाई सहजीकरण गर्नका लागि हामीले भारतसँग उर्जा व्यापार सम्झौता गरेका छौँ भने चीनसँग उर्जा क्षेत्र सहकार्यको समझदारीपत्र तथा बंगलादेशसँग उर्जा निर्यातको समझदारीपत्रमा हस्ताक्षर भएको छ।

पर्यटन उद्योग नेपाली अर्थतन्त्रको महत्वपूर्ण योगदानकर्ताको रुपमा रहेको छ। सन् २०२३ मा नेपालमा १२ लाख भन्दा धेरै विदेशी पर्यटकहरुको आगमन भएको छ, जुन अघिल्लो वर्षको भन्दा १७ प्रतिशतको उल्लेख्य वृद्धि हो। त्यसैगरी सूचना प्रविधि क्षेत्रपनि तिव्रतर रुपमा विकास भैरहेको छ र सन् २०२१ मा यस क्षेत्रबाट भएको सेवा निर्यातमा करीब ६५ प्रतिशतको वृद्धिदर देखिएको छ।

साथै, नेपालबाट उच्च मूल्यका नगदेवालीहरु निर्यातको पनि आकर्षक अवसरहरु छन् जसले लगानीको सम्भावनालाई बढाउनुका साथै आर्थिक वृद्धिमा पनि योगदान गर्नेछ। गुणस्तरका लागि प्रसिद्ध रहेका तयारी पोशाक तथा नेपाली गलैँचा पनि नेपालबाट विश्वबजारमा निर्यात हुने प्रमुख वस्तुहरू हुन् । यस क्षेत्रमा पनि लगानीको प्रचूर सम्भावना रहेको छ।

दुईवटा विशेष आर्थक क्षेत्र सञ्चालनमा आइसकेका तथा देशभर विभिन्न स्थानमा अन्य धेरैवटा निर्माणाधीन चरणमा रहनुले पनि आर्थिक वृद्धि तथा औद्योगिक विकासलाई बढावा दिने हाम्रो अटल प्रतिबद्धतालाई प्रष्ट पार्दछ। हाल देशमा १० वटा औद्योगिक क्षेत्रहरु सञ्चालनमा रहेका छन् र थप ६ वटा औद्योगिक क्षेत्रहरु विकास गर्ने योजना रहेको छ । यसले न्यून सुरुवाती लगानीका साथै अत्यावश्यकीय पूर्वाधार तथा सहयोगी सेवाहरुको सुनिश्चितता गराउनेछ।

विश्वका दुई उदीयमान बजारहरु, भारत र चीनको बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले पनि नेपाल लगानीका लागि एक आदर्श गन्तव्य भएको तथ्यलाई पुष्टि गर्दछ। भारतीय तथा चिनियाँ बजारमा नेपाली वस्तुहरुको कर तथा भन्सार शुल्क मुक्त पहुँचका साथै साफ्टा र बिमस्टेक जस्ता क्षेत्रीय सम्झौता र स्वतन्त्र व्यापार सम्बन्धी व्यवस्थाले पनि द्विपक्षीय र क्षेत्रीय बजार सुनिश्चिच गरेको छ।

अन्तर्राष्ट्रिय निजी लगानीको सहज प्रवाहलाई सहजीकरण गर्नका लागि ६ अर्ब रुपैयाँ भन्दा कम लगानीलाई स्वीकृत प्रदान गर्ने काम उद्योग विभागले गर्दछ भने लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँ भन्दा ठूला लगानी तथा २ सय मेगावाट भन्दा ठूला जलविद्युत परियोजनाको विषय हेर्ने गर्दछ। दुबै सरकारी निकायहरु घरेलु तथा अन्तराष्ट्रिय लगानीकर्ताहरुका लागि निश्चित समयसीमाभित्र सहज तथा सुविधाजनक एकल बिन्दु सेवा प्रदान गर्न प्रतिबद्ध छन्।

नेपालमा लगानी गर्दा मुनाफा हासिल गर्न सकिन्छ  भन्ने तथ्यलाई उल्लेख्य वैदेशिक लगानी सहित नेपालमा सञ्चालित विभिन्न कम्पनीहरुबाट पुष्टि भैसको छ। ती कम्पनीहरुले नेपालमा गरेको लगानीबाट फिर्ता लगेको लाभांशको हिस्सा निकै उत्साहप्रद छ जसले नेपालको मुनाफायुक्त लगानी वातावरणलाई दर्शाएको छ।

उपस्थित महानुभावहरु,

केही समयअघि यहाँ भएका सम्झौता समझदारीपत्रहरुले सहकार्य तथा साझेदारीको नयाँ युगको सुरुवातको संकेत गर्दछन् । यसले निकट भविष्यमा नतिजा प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ। साथै यो दुईदिने महत्वपूर्ण कार्यक्रममा सरकार–सरकारबीच, सरकार-व्यवसायिक क्षेत्रबीच तथा व्यवसायिक क्षेत्र-व्यवसायिक क्षैत्रबीच गरी विभिन्न तहमा केही घोषणाहरु हुने र यसले नेपाललाई वैश्विक लगानी गन्तव्यको रुपमा स्थापित गर्ने विश्वास पनि मैले गरेको छु।  यो शिखर सम्मेलनमा शोकेस गरिने विभिन्न परियोजनाहरुले हाम्रो मुलुक तथा सम्भावित लगानीकर्ता दुबैलाई लाभ पुग्नेगरी मूर्त नतिजा हासिल गर्ने प्रतिज्ञा सहित नेपालमा लगानीको विशाल सम्भावनालाई अगाडि बढाउनेछन्।

हामीले यो  साझा यात्रा सुरु गर्दैगर्दा म के कुरामा विश्वस्त छु भने आगामी दशकभित्रमा दीगो तथा उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको तत्कालीन लक्ष्य स्वदेशी तथा विदेशी निजी क्षेत्रसँगको सहकार्यबाट सम्भव हुनेछ । सबैको सहकार्य र सहयोगबाट हामीले नेपालको आर्थिक सम्भावनालाई उपयोग गर्नेछौँ र आर्थिक रुपान्तरण र समृद्धि तर्फको मार्गचित्र तयार गर्नेछौँ भन्ने कुरामा म आशावादी छु।

अन्त्यमा, फलदायी शिखर सम्मेलनका लागि म सम्पूर्ण प्रतिनिधि तथा सहभागीहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। यस सम्मेलनका नतिजाहरूलाई मूर्तरुप दिनका लागि हामीहरु सम्पर्कमै रहनेछौँ। नेपालमा यहाँहरुको समय सहकार्य, अवसर र अभिप्रेरणायुक्त होस् । उज्वल भविष्यका लागि सँगै मार्ग तय गरौँ।

नेपालमा यहाँहरुको सुखद बसाइको कामना  गर्दछु।

धन्यवाद!