स्थानीय निर्वाचनको ढोका खुल्यो, ‘प्रधानमन्त्री’

स्थानीय निर्वाचनको ढोका खुल्यो, ‘प्रधानमन्त्री’

पौष २५, भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्यसँगै स्थानीय निर्वाचनको ढोका खुलेको बताउनु भएको छ । सोमबार बिहान पूर्वी चितवनको बीरेन्द्रनगरमा जनयुद्धका शहिद तथा बेपत्ता योद्धाहरुको स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
स्तम्भ अनावरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘संसदको गतिरोध अन्त्य भएको छ । हामीले असहमतिका बीच प्रक्रियामा सहमति खोजेका छौं । संसदबाट निर्वाचन सम्बन्धि विद्येयक अघि बढिसकेका छन्, अब स्थानीय निर्वाचनको ढोका खुल्यो, बैशाखमा निर्वाचन गर्ने गरी सरकारले छिटै स्थानीय निर्वाचनको मिति घोषणा गर्दैछ ।’
कार्यक्रममा प्रधानमन्त्रीले राजनीतिक निकासका साथै आर्थिक समृद्धिमा आफ्नो ध्यान गएको बताउँदै भन्नुभयो, ‘राजनीतिक स्थिरताले मात्रै विकासका काममा तिब्रता पाउन सक्छ । तर, राजनीतिक विवादका कारण विकास निर्माण र आर्थिक समृद्धिको खाका प्रभावित हुनु हुँदैन । मैले देशव्यापी रुपमा ठूला आयोजनाहरुको निरीक्षण र अनुगमन गरिरहेको छु । विकास र समृद्धिलाई केन्द्रमा राखेर देश दौडाहामा छु । अब कुनै पनि बहानामा विकासका काममा अवरोध गर्नु हुँदैन ।’
चितवनको राजनीति र विकासबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘चितवन आफैमा पनि राजनीतिक र सामाजिक आन्दोलन र जागरणको केन्द्र हो । हिजो परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको चितवनले अब विकास र समृद्धिको नेतृत्व गर्नुपर्छ । मैले छिटै चितवनको विकासको प्याकेज अगाडि सार्नेछु । त्यसमा तपाईहरुको सकारात्मक सहयोग र ऐक्यवद्धताको अपेक्षा गरेको छु ।’