सम्माननीय प्रधानमन्त्रीसँग एआइआइबीको प्रतिनिधिमण्डलद्वारा शिष्टाचार भेट

सम्माननीय प्रधानमन्त्रीसँग एआइआइबीको प्रतिनिधिमण्डलद्वारा शिष्टाचार भेट

 

१२ चैत्र, काठमाडौं: सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूसँग नेपाल भ्रमणमा रहेका एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) का निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेटमा एआइआइबीका निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा बैंकका अन्य निर्देशकहरू, उपाध्यक्ष एवं उच्च अधिकारीको सहभागिता रहेको थियो ।

उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले उच्च आर्थिक वृद्धिमार्फत् सुशासन, संस्थागत विकास, सामाजिक न्याय र समृद्धि हासिल गर्नेतर्फ सरकार केन्द्रित भएको उल्लेख गर्नुहुँदै नेपालको विकास प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र निजी पुँजी परिचालनको क्षेत्रमा एसियाली पूर्वाधार लगानी बैंकबाट थप सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो।

नेपालमा एआइआइबीको लगानीमा उर्जा क्षेत्रका केही परियोजनाहरू हाल सञ्चालनमा रहेको उल्लेख  गर्नुहुँदै उहाँले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा समेत लगानीको प्रचूर सम्भावना रहेकाले लगानी विस्तार गर्नका लागि बैंकलाई आग्रह गर्नुभयो।

साथै उहाँले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न आग्रह गर्दै आगामी महिना हुन लागेको लगानी सम्मेलनमा बैंकबाट उच्च तहमा प्रतिनिधित्व हुने र त्यसले नेपालमा लगानीका लागि अनुकूल वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिनिधिमण्डलका प्रमुख रथनायकेले एसियाली पूर्वाधार लगानी बैंकको संस्थापक सदस्य नेपाललाई बैंकले प्राथमिकता राखेको र नेपालका प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गर्न बैंक सकारात्मक रहेको बताउनुभयो ।