श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफल सम्पन्न

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफल सम्पन्न

 

पुस २४, काठमाडौँ । मन्त्रालयगत समीक्षा गरी काममा प्रभावकारिता अभिवृद्धि गर्ने क्रममा सम्माननीय  प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत अतिरिक्त आर्थिक भार थप्ने कुनै प्रकारको कार्य नगर्न निर्देशन दिनुभयो । वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै उहाँले वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई पूर्ववत् रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको हो।

सो क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले सबै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सरकार बाटै सस्तो ब्याजदरमा ऋण दिने व्यवस्था मिलाउन तथा पूर्व-प्रस्थान अभिमूखिकरण लगायत अन्य तालिमहरू निःशुल्क रूपमा प्रदान गर्न, सामाजिक सुरक्षा कोषमा औपचारिक-अनौपचारिक क्षेत्रका, वैदेशिक रोजगारीमा गएका र स्वरोजगारमा रहेका श्रमिकको आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउन, रोजगारदाता र श्रमिकको एकीकृत विवरण तयार गरी रोजगारी व्यवस्थापन सूचना प्रणाली तत्काल कार्यान्वयन गर्न तथा आन्तरिक रोगजारी सिर्जनाका लागि विशेष योजना तयार गरी कार्यान्वयन गर्न पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिनुभयो।

उक्त छलफलमा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरतसिंह भण्डारीज्यू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालज्यूका साथै सचिवज्यूहरुले आ–आफ्नो विषयक्षेत्र तथा कार्यजिम्मेवारीका विषयमा बोल्नुभएको थियो ।