बिरामीले गुनासो गर्नै नपर्ने गरी स्वास्थ्यसेवा दिन वीर अस्पताललाई निर्देशन

बिरामीले गुनासो गर्नै नपर्ने गरी स्वास्थ्यसेवा दिन वीर अस्पताललाई निर्देशन

 

पुस २६, काठमाडौँ । सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले उपचारका क्रममा बिरामीले गुनासो गर्नुपर्ने अवस्था नै नआउने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न वीर अस्पताललाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का पदाधिकारीसँग बिहिबार भएको छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएको र सो अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको समग्र स्वास्थ्य सेवाको तस्बिर देखिने भएकाले जनताले अनुभूत गर्नेगरी गुणस्तरीय र सुलभ ढंगले सेवाप्रवाह गर्न निर्देशन दिनुभयो ।

उक्त छलफलका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले वीर अस्पतालले माग गरेका स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको पनि जानकारी दिनुभयो ।

सम्माननीय प्रधानमन्त्रीज्यूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को कुलपति नियुक्ति प्रक्रियामा आफुले छलफल चलाइरहेको र सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने बताउनुभयो ।

सो छलफलमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउनुहुँदै अस्पतालका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सम्माननीय प्रधानमन्त्रीज्यूसँग अनुरोध गर्नुभएको थियो ।