ललितपुरको द्रुतमार्ग सरोकार समितिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

ललितपुरको द्रुतमार्ग सरोकार समितिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

कार्तिक ३, काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्ग अन्तर्गत ललितपुर खोकना, सैंवु र बुङ्मतिका स्थानीय सरोकारवालाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी आफ्ना समस्या र मागबारे ध्यानाकर्षण गराएका छन् ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालको नेतृत्वमा आएको सर्वपक्षीय सरोकार समितिले द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्दा सरकारले दिने भनिएको मुआब्जा निकै कम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । भेटमा सरोकार समितिका पदाधिकारीहरुले जग्गा अधिग्रहण गर्दा प्रचलित मूल्यअनुसारको मुआब्जा दिन, निर्माण कार्य गर्दा स्थानीय संस्कृति र सम्पदाको संरक्षण गर्न, स्थानीय मौलिक संस्कृति र वातावरणीय प्रभाव कम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्रधानमन्त्रीले द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना भएको र सरकारको प्राथमिकतामा रहेको बताउँदै छिट्टै द्रुतमार्ग सम्बन्धि बैठकको आयोजना गरी योजनाको कार्यान्वयन र स्थानीय सरोकारवालाहरुको चासोबारे छलफल गर्ने जानकारी दिनुभयो ।