राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक सम्पन्न

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक सम्पन्न

माघ २४, काठमाडौँ । सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको बैठकमा बैठकमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्काज्यू, माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यू, माननीय कानून, न्याय तथा संसदीय मामिलामन्त्री श्री धनराज गुरुङज्यू, सातवटै प्रदेशका माननीय मुख्यमन्त्रीज्यूहरु,  नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघका  नेपालका प्रतिनिधिज्यूहरु, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षज्यू तथा संसदमा प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिज्यू, नेपाल सरकारका मुख्य सचिवज्यू तथा सचिवज्यूहरु एवम् प्रदेशका प्रमुख सचिवज्यूहरुको उपस्थिति रहेको थियो।

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा १६ बमोजिम संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्धलाई व्यवस्थित गर्न सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा गठित परिषद्को दोश्रो बैठकमा गत असारमा सम्पन्न पहिलो बैठकले गरेका निर्णयहरुको कार्य प्रगतिका सम्बन्धमा समीक्षा गरिएको थियो ।

बैठकको अध्यक्षता गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वि.सं. २०७६ सालमा राष्ट्रिय समन्वय परिषद्सम्बन्धी कानुन बनेपनि पहिलो बैठक आफूले नै गत असारमा राखेको स्मरण गर्नुहुँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय कायम गरी संविधानको प्रभावकारी कार्यान्वयनका लागि परिषद्को बैठक राखिएको बताउनुभयो । संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्नेमा जोड दिँनुहुँदै उहाँले सङ्घीय निजामती सेवा ऐन र प्रहरी समायोजनका लागि माननीय उपप्रधानमन्त्रीज्यूहरूलाई जिम्मेवारी नै तोकेर काम थालिएको बताउनुभयो ।

बैठकले तहगत अधिकारमा प्रष्टता ल्याउनका लागि सुरु गरिएको कार्यविस्तृतीकरण परिमार्जनको प्रतिवेदनलाई सम्बन्धित सरोकारवाला निकायहरुको समेत सुझाव लिई अन्तिम रुप दिएर आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ।