भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको छलफल सम्पन्न

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको छलफल सम्पन्न

 

पुस १२, काठमाडौँ । सबै संघीय मन्त्रालयका कार्यहरुको वार्षिक समीक्षा गरी प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यका साथ मन्त्रालयगत छलफल तथा दिशानिर्देश गर्ने क्रममा  सम्माननीय प्रधानमन्त्री  श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफुले गत मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरशः कार्यान्वयन गरिने र आजकै मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको प्रस्ताव पारित गरेर त्यसको सुरुवात गरिने बताउनुभयो । सोही क्रममा उहाँले विकासलाई गति दिनका लागि अब अत्यावश्यक बाहेक नयाँ योजनाहरु नथप्ने र पुराना योजनाहरु सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने भन्दै आगामी बजेटबाट नै त्यसको प्रारम्भ हुने समेत बताउनुभएको छ।

छलफलको क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रालयका काममा गुणात्मक सुधार ल्याउनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना तयार गरेर अघि बढ्न, साना लागतका आयोजनामा संघीय सरकारबाट रकम विनियोजन नगर्न, राष्ट्रिय गौरवका आयोजना तथा राष्ट्रियस्तरका प्रमूख पूर्वाधार आयोजनाको काम दुई सिफ्टमा सञ्चालनको व्यवस्था गर्न, निर्माणाधीन आयोजनाहरुमा देखिएको समस्याहरुको तत्काल समाधान गरेर तिव्रता दिन, निर्माण व्यवसायीले गरेको कामको भुक्तानीलाई प्राथमिकता दिन, पूर्वाधारमैत्री छाता ऐन र एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्न, सडकहरुको सुरक्षा अडिट तथा मर्मत सम्भार गरी सडक दुर्घटना न्यूनीकरण गर्न र सेवाग्राहीलाई समयमै सवारी चालक अनुमति पत्र वितरणको सुनिश्चितता गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिनुभयो।

त्यसैगरी सम्माननीय प्रधानमन्त्रीज्यूले नवप्रवर्तनशील सोँच र जोश भएका युवाहरुमा उद्यमशीलता प्रवर्द्धनका लागि बिजिनेस इनकुबेसन सेन्टर मार्फत् सातै प्रदेशमा अभियान सञ्चालन गरी वर्षेनी कम्तिमा २० हजार युवाको नवीनतम सोँचलाई वस्तु र सेवा उत्पादनमा जोड्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो।साथै लामो समयदेखि बन्द तथा रुग्ण रहेका उद्योगहरुको सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनका सम्बन्धमा अध्ययन गर्नका लागि एक उच्चस्तरीय अध्ययन समिति गठनको प्रक्रिया अघि बढाउन,  बजार अनुगमनलाई प्रभावकारी बनाउन, विशिष्टीकृत बजार अनुगमन निर्देशनालय गठनको अध्ययन अघि बढाउन, मन्त्रालयमा वाणिज्य कूटनीति सेल स्थापना गर्न, टाइम कार्डको व्यवस्था सहित उद्योग व्यवसाय दर्ता सम्बन्धि एकल विन्दु सेवाकेन्द्रलाई प्रभावकारी बनाउन पनि उहाँले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो।

सो क्रममा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री प्रकाश ज्वालाज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजालज्यू, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठज्यू, नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालज्यू तथा सम्बन्धित मन्त्रालयका सचिवज्यूहरुले आफ्नो विषयक्षेत्र तथा कार्यजिम्मेवारीका विषयमा बोल्नुभएको थियो।