बालकुमारी घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

बालकुमारी घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

 

पुस १६, काठमाडौँ । नेपाल सकार मन्त्रिपरिषद्को बैठकले मिति २०८० पुष १३ गते ललितपुरको बालकुमारीमा भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले दुई जनाको दुःखद निधन हुनेगरी भएको उक्त घटनाको छानबिनका लागि उच्च अदालतका पूर्व माननीय न्यायाधीश शेखर पौडेलको अध्यक्षातामा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बि.सी. र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

साथै मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगलाई घटनामा भएको मानवीय, भौतिक लगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने, उक्त घटनाको कारण र सो स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका सम्बन्धमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा त्यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटिएको प्रतिवेदन कार्य प्रारम्भ भएको मितिले एक महिनाभित्रमा पेश गर्ने कार्यादेश दिएको छ ।