नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको प्रथम राष्ट्रिय सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट व्यक्त मन्तव्य

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको प्रथम राष्ट्रिय सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट व्यक्त मन्तव्य

कार्यक्रमका अध्यक्ष महोदय,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
माननीय उपप्रधानमन्त्रीज्यूहरु,
माननीय मन्त्रीज्यू,
सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु,
न्याय परिषद्का माननीय सदस्यज्यूहरु,
सम्मेलनका सहभागी र पर्यवेक्षकहरु,
उपस्थित दिदी बहिनी तथा दाजुभाइहरु,
सञ्चारकर्मी मित्रहरु ।
नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको व्यवसायिक सहकार्य र समन्वय बढाउने उदेश्यले महान्यायधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयद्धारा संयुक्त रुपमा आयोजित पहिलो राष्ट्रिय सम्मेलनमा उपस्थित हुन पाउँदा खुशी लागेको छ । सम्मेलन यसको लक्षित उदेश्य पुरा गर्न सफल हुनेमा पूर्ण विश्वास राख्दै म सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दछु ।
अनुसन्धानकर्ता र अभियोजनकर्ता फौजदारी कानुन कार्यान्वयनका लागि जिम्मेवार निकाय हुन् । मुलुकमा विधिको शासन कायम गर्न, कानुन उल्लंघनकर्तालाई कानुनको दायरामा ल्याउन र कानुनले तोकेबमोजिमको गर्न यी दुई निकायहरुको महत्वपूर्ण भूमिका रहन्छ । यी निकायहरुको सक्षमता, प्रभावकारिता र सवलतामा नै मुलूकमा शान्ति सुरक्षा कायम गर्न, कानुनी शासनको प्रत्याभूति दिन, दण्डहीनताको अन्त्य गर्न र नागरिकको हक संरक्षण गर्न सम्भव हुन्छ ।
विज्ञान एवं प्रविधि तथा सूचना तथा सञ्चारको क्षेत्रमा आएको ठूलो परिवर्तनले अपराधलाई अन्तरदेशीय बनाएको छ । अपराधीको अपराध गर्ने शैली र संलग्नतामा परिवर्तन ल्याएको छ । यसका अतिरिक्त संगठित रुपमा अपराधलाई पेशाकै रुपमा अंगाल्ने गिरोहहरुको विकास भइरहेको छ । यसले अपराधको अनुसन्धान र अभियोजनलाई जटिल र चुनौतिपूर्ण बनाएको छ । ती चुनौतिहरुको सामना गर्न एकातर्फ अनुसन्धान र अभियोजन गर्ने निकायहरु सक्षम हुन जरुरी छ भने अर्कोतर्फ यी दुई निकायहरु बीचको नजिकको समन्वय पनि उत्तिकै आवश्यक छ । यसै कुरालाई मध्यनजर गरी महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयले थालेको यो संयुक्त प्रयास अत्यन्तै सामयिक र सह्रानीय छ ।
अनुसन्धानकर्ता नेपाल प्रहरी र अभियोजनकर्ता सरकारी वकीललाई राज्यले प्रदान गरेका जिम्मेवारीहरु व्यवसायिक प्रकृतिका छन् । ती जिम्मेवारीहरुलाई प्रभावकारी ढङ्गले निर्वाह गर्न सोही प्रकृतिको दक्षता, क्षमता, व्यवसायिक आचरण र लगनशीलताको आवश्यकता पर्दछ । यसका लागि यी संस्थाहरुमा आवश्यक जनशक्तिको प्राप्ति र प्राप्त जनशक्तिको विकास, संरक्षण र उनीहरुको मनोबल उच्च हुने गरी स्रोत साधनको उपलब्धता, कार्य वातावरण, प्रविधिको अवलम्बन र उपयुक्त कार्य संस्कृति आवश्यक पर्दछ । यी निकायहरुलाई राज्यले अपेक्षा गरेको तथा संविधान र कानुनले सुम्पिएको दायित्व निर्वाह गर्न आवश्यक पर्ने समयानुकूल भौतिक स्रोत र साधन उपलब्ध गराउने, संस्थागत विकास गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता प्रदान गर्ने म विश्वास दिलाउँछु ।
म यो महत्वपूर्ण समारोहमा सबै उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयहरुलाई नेपाल सरकारले सवारी साधन (गाडी) उपलब्ध गराउने घोषणा गर्दछु । यसका अतिरिक्त सरकारी वकिलहरुको सेवा शर्त र सुविधा सम्बन्धी कानून तर्जुमा सम्बन्धमा यस अघि नै मैले कानून मन्त्री ज्यू र महान्यायधिवक्ता ज्यूसँग छलफल गरिसकेको छु । यस सम्बन्धी कानून छिट्टै तर्जुमा गरिने समेत यहाँहरुलाई जानकारी गराउन चाहन्छु । भूकम्पबाट क्षतिग्रस्त महान्यायधिवक्ता कार्यालयको नयाँ भवन निर्माणका लागि आवश्यक बजेट यथाशीघ्र भवन निर्माण कार्य शुरु गरिने व्यहोरा यसै अवसरमा जानकारी गराउँछु । यसैगरी नेपालका अनुसन्धानकर्ता प्रहरीहरुका लागि समेत तोकिएको कार्य सम्पादनका लागि स्रोत साधनको कमी हुन नदिने व्यहोरा अवगत गराउँछु ।
यहाँहरुलाई विदितै छ मुलुक अझै पनि संक्रमणकालीन अवस्था रहेको छ । मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा सोको कार्यान्वयनको चुनौतिपूर्ण मिशनको अवस्थामा हामी रहेका छौं । यसका साथै द्वन्द्वकालीन समयमा घटेका घटनाहरुलाई निश्चित वैधानिक मार्ग तय गरी निरुपण गर्नुपर्ने अवस्थामा समेत हामी रहेका छौं । यसमा अनुसन्धान र अभियोजनमा संलग्न निकायहरुको महत्वपूर्ण भूमिका रहने हुनाले त्यस सम्बन्धमा क्षमता विकास गर्नु जरुरी छ । इतिहासले प्रदान गरेको यस महत्वपूर्ण तथा गहनतम् भूमिकालाई अवसरको रुपमा लिई यी दुवै निकायबाट सरकारलाई सहयोग प्राप्त हुने मेरो अपेक्षा छ ।
सम्मेलनमा अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्था, समस्या, चुनौतीको समीक्षा, अनुसन्धानकर्ता र अभियोजनकर्ता बीचको कार्यात्मक समन्वय, अनुसन्धानर्ता र अभियोजनकर्ताको क्षमता अभिवृद्धि तथा व्यावसायिकताको विकास, फौजदारी न्यायप्रणालीको सुदृढीकरण जस्ता समसामयिक र सान्दर्भिक विषयमा कार्यपत्र प्रस्तुत भई ती कार्यपत्रहरु उपर सहभागीहरुवीच हुने छलफल तथा विषय विज्ञद्वारा हुने टिप्पणीबाट प्राप्त निष्कर्षले अनुसन्धान तथा अभियोजनलाई प्रभावकारी बनाउन तथा फौजदारी न्याय प्रशासनको आधुनिकीकरण र सुदृढीकरण गर्न सहयोग पुग्नेछ भन्ने विश्वास मैले लिएको छु ।
अन्त्यमा “प्रभावकारी अनुसन्धान र अभियोजन, सुदृढ फौजदारी न्याय प्रशासन” भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको अनुसन्धानकर्ता नेपाल प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको प्रथम राष्ट्रिय सम्मेलनले फौजदारी न्याय प्रशासनको आधुनिकीकरण र विधिको शासन स्थापना गर्न महत्वपूर्ण सहयोग पु¥याउने छ भन्ने अपेक्षा गर्दै पुःन यो सम्मेलनको सफलताको कामना गर्दछु । धन्यवाद ।