नीति, कार्यक्रम र बजेटको ढाँचा तथा प्रक्रियामा परिमार्जनका विषयमा छलफल सम्पन्न

नीति, कार्यक्रम र बजेटको ढाँचा तथा प्रक्रियामा परिमार्जनका विषयमा छलफल सम्पन्न

 

पुस २३, काठमाडौं। सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूले आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम र बजेटमा व्यापक रूपान्तरणका विषयमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्नुभएको छ ।

गत पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको निर्माणमा परम्परागत शैली हटाएर सबैको अपनत्व कायम गर्ने घोषणा गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतज्यू तथा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठज्यूसँग नीति, कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियामा व्यापक परिमार्जन तथा रूपान्तरण गर्ने विषयमा छलफल गर्नुभएको हो ।

त्यसक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले बजेटको मन्त्रालयगत सिलिङ तोक्दा मन्त्रालयहरूबीच व्यापक छलफल जरूरी भएको बताउनुहुँदै सिलिङ तोक्ने प्रक्रियाबारे नै छुट्टै छलफल आवश्यक रहेको बताउनुभयो।

उहाँले अनुमान र हचुवाको भरमा सिलिङ नतोक्न र त्यसक्रममा सम्बन्धित मन्त्रालयहरूलाई पनि बोलाएर छलफल गरी सबैका कुरा सुन्न, केन्द्रमा राख्ने तथा प्रदेश र स्थानीय तहमा पठाउने योजनाहरुको स्तर निर्धारणबारे प्रष्ट खाका निर्माणको लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभयो । साथै सम्माननीय प्रधानमन्त्रीज्यूले प्रत्येक आर्थिक वर्षमा कुनै विशेष रणनीतिक योजनामा केन्द्रित हुनेगरी नीति, कार्यक्रम र बजेट तयार गर्न, अधुरा पुराना योजनालाई उच्च प्राथमिकता दिन तथा अनावश्यक नयाँ योजना नथप्न पनि निर्देशन दिनुभयो।

छलफलमा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतज्यू, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठज्यू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालज्यू, राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रामकुमार फुयाँलज्यूले पनि सम्बन्धित विषयमा बोल्नुभएको थियो ।