निर्वाचनसँग जनताको अधिकार सम्बन्धित छ, ‘प्रधानमन्त्री’

निर्वाचनसँग जनताको अधिकार सम्बन्धित छ, ‘प्रधानमन्त्री’

फागुन २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बैशाख ३१ मा सम्पन्न हुने स्थानीय निर्वाचन जनताको अधिकारसँग सम्बन्धित भएको बताउनु भएको छ । थकाली जातिको सांस्कृतिक पर्व तोरन्ल पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले निर्वाचनसँग जनताको अधिकार सम्बन्धित भएको बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘बैशाख ३१ मा स्थानीय निर्वाचनको घोषणा गरिएको छ, तोकिएको मितिमा निर्वाचन गर्न सरकार पूर्ण प्रतिवद्ध छ । अहिलेको संविधानले जनताका धेरै तल्लो तहलाई दिएको छ । स्थानीय निर्वाचन गरेर मात्र संविधानमा व्यवस्था गरिएका अधिकार जनताको घरआगँनमा पुग्छन् । जनताको अधिकारलाई सम्बोधन गर्न पनि स्थानीय तहको निर्वाचनको कुनै बिकल्प छैन ।’
कार्यक्रममा थकाली जाति आफ्नो स्वाभिमान र न्यायका लागि लड्ने लडाकु जाति भएको प्रधानमन्त्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘भर्खरै मैले धनुषवाण हानें, ठिकै ठाउँमा पनि लाग्यो । यो एउटा सन्देश हो, धनुष वाणलाई तपाईहरुले आफ्नो संस्कृतिको रुपमा स्थापित गर्नुभएको छ । यसको अर्थ थकाली जाति आफ्नो अधिकार, न्याय र स्वाभिमानका लागि लड्ने जाति हो । आजको यस पर्वले तपाईहरुको अधिकार स्थापित गर्न प्रेरणा मिल्नेछ ।’