निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया अघि बढ्दै

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया अघि बढ्दै

 

पुस २९, काठमाडौं। निर्माण व्यवसायीहरूलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ।

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले आज आफ्नै कार्यकक्षमा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतज्यू, माननीय भौतिक योजना तथा यातायातमन्त्री श्री प्रकाश ज्वालाज्यू, नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालज्यू, अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करज्यू, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव श्री केशवकुमार शर्माज्यू तथा सडक विभागका महानिर्देशक श्री सुशीलबाबु ढकालज्यूसँग आज आफ्नै कार्यकक्षमा छलफल गरे पश्चात्  निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजैबाट अगाडि बढाउने निर्णय भएको हो।

त्यसक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले विकासनिर्माणका काममा गति दिनका लागि निर्माण व्यवसायीको गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी रकम रू. १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व समेत गरी रू. ६ अर्ब ३० करोड रकम तत्काल निकासा गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।

सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनपछि अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरूको रकम भुक्तानीका लागि आजै निकासाको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो।