औषधि उत्पादनको काम तत्काल सुरू गर्न निर्देशन

औषधि उत्पादनको काम तत्काल सुरू गर्न निर्देशन

 

पुस २९, काठमाडौं। सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूले तत्काल २० प्रकारका औषधि उत्पादनको काम थाल्न नेपाल औषधि लिमिटेडलाई निर्देशन दिनुभएको छ ।

आज नेपाल औषधि लिमिटेडका अध्यक्ष सहितका पदाधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर उहाँले विगतमा लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको भएतापनि पछिल्लो समय त्यसमा गत्यावरोध देखिएको भन्दै नयाँ ढंगले काम अघि बढाउन निर्देशन दिनुभयो।

औषधि उत्पादनको क्षेत्र देश आत्मनिर्भर बनाउने एउटा महत्वपूर्ण क्षेत्र भएको भन्दै सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल २० प्रकारका औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुबै बढाउनुपर्ने बताउनुभयो ।

नेपाल औषधि लिमिटेडले हाल औषधि उत्पादनका निम्ति गरिरहेको प्रयास महत्वपूर्ण रहेको र नयाँ औषधिहरु उत्पादनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने सम्माननीय प्रधानमन्त्रीज्यूले बताउनुभयो।

उक्त अवसरमा नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेले हाल १० प्रकारका औषधिहरू लिमिटेडले उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो।