दोरम्बा बलिदान र बिरताको इतिहास हो, ‘प्रधानमन्त्री’

दोरम्बा बलिदान र बिरताको इतिहास हो, ‘प्रधानमन्त्री’

श्रावण ३२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोरम्बा हत्याकाण्ड नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा बलिदानी र बिरताको इतिहास भएको बताउनुभएको छ ।
मंगलबार ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय कार्यालय पेरिसडाँडामा दोरम्बाका सहिदहरुको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘दोरम्बा घटना नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा बलिदानी र बिरताको इतिहास हो । तात्कालीन शाही सरकारको कायरता र अधैर्यताको इतिहास हो । यो नेपाली इतिहासमा बलिदानीको बिशिष्ट घटना हो ।’
प्रधानमन्त्रीले अर्को वर्षदेखि दोरम्बा स्मृति दिवस पार्टी केन्द्रले मनाउने जानकारी दिनुभयो । नयाँ सरकारले सहिद र बेपत्ताका सपनालाई साक्षी राखेर काम गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालको कम्युनिष्ट आन्दोलन घुमाउरो बाटोबाट अघि बढ्दैछ । म दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै सहिद र बेपत्ता परिवारलाई बाँकी रहेको ५ लाख रुपैयाँ एकमुष्ठ दिने निर्णय गरेको छु । गरीबका लागि सरकार, दलित समुदायका सबै र कर्णालीका बच्चाहरुलाई प्रोत्साहनस्वरुप एक हजार दिने निर्णय पनि वर्ग पक्षधरताकै सन्देश हो ।’
प्रधानमन्त्रीले धेरै बोल्ने भन्दा काम गरेर देखाउने बेला आएको भन्दै स्थानीय तहसम्म पार्टी एकतालाई बलियो बनाएर जनताको बीचमा जान कार्यकर्तालाई अपील गर्नुभयो ।
कार्यक्रममा रामेछापका स्थानीय नेताहरुले दोरम्बाका सहिदहरुको सम्झनामा राष्ट्रिय स्तरमा दोरम्बा स्मृति प्रतिष्ठानको गठन गर्न, दन्द्धपीडितको राहतलाई प्रभावकारी बनाउन, भूकम्पपीडितको राहतलाई व्यवस्थित गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डसँग अनुरोध गर्नुभएको थियो ।