दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न निर्देशन

दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न निर्देशन

काठमाडौं, १४ फागुन। सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले दुग्ध विकास संस्थानले दुध खरिद गरेबापत किसानहरूलाई गर्नुपर्ने भुक्तानी तुरून्त दिन निर्देशन दिनुभएको छ।

सोमबार माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतज्यू, माननीय कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसालज्यू र नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालज्यूलाई आफ्नै कार्यकक्षमा बोलाएर सम्माननीय  प्रधानमन्त्रीज्यूले महिनौँसम्म किसानहरूले दुधको भुक्तानी नपाउने विषयलाई गम्भीरतापूर्वक लिन र दुग्ध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्देशन दिनुभएको हो।

साथै सम्माननीय प्रधानमन्त्रीज्यूले किसानहरूले निजी क्षेत्रबाट पाउनुपर्ने रकम समेत तत्काल दिलाउने व्यवस्था गर्न र भुक्तानी नदिनेलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिनुभएको छ।