तमु ल्होसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश

तमु ल्होसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश

तमु (गुरुङ) जातिले नयाँ वर्ष तथा बाँदर वर्ग (प्र ल्हो) को अन्त्य भएर चरा वर्ग (च्यो ल्हो) को आरम्भ भएको अवसरमा मनाउने तमु ल्होसार/ल्होछारको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका तमु लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक हो । हाम्रो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो । भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो । सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् । यसै सन्दर्भमा नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।
जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो । यसका लागि सरकार सम्वाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको छ । यस अवसरमा तमु जाति तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न हार्दिक अपील गर्दछु ।
अन्त्यमा, यस पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै तमु जाति समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पौष, २०७३

पुष्प कमल दाहाल ‘प्रचण्ड’