राष्ट्रिय एकता कायम हुन्छः प्रधानमन्त्री

राष्ट्रिय एकता कायम हुन्छः प्रधानमन्त्री

पौष १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई निर्वाचनमा लगेर संविधान कार्यान्वयन गर्ने अभिभारा पूरा भएरै छाड्ने उद्घोष गर्नुभएको छ । उहाँले देशमा उत्पीडित वर्ग, जाति र समुदायलाई अधिकार दिलाएर राष्ट्रिय एकता कायम गर्ने आफ्नो अभियान सफलतातिर अघि बढेको बताउँदै निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्ने दिशामा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
तमु समुदायका १८ संघसंस्थाले सामूहिक रुपमा आयोजना गरेको सामूहिक तमु ल्होछार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीले राष्ट्रिय एकताबिना संविधान कार्यान्वयन असम्भव भएकाले एकताका लागि आ आफ्नो ठाउँवाट आवश्यक त्याग गर्न सबैसँग आग्रह गर्नुभयो । ‘त्याग गर्दा केही पाउन र केही गुमाउन पनि सकिन्छ, संविधान कार्यान्वयनपछि देश आर्थिक समृद्धि र विकासको वाटोमा लाग्नेछ ।’
प्रधानमन्त्रीले तमुहरुले इतिहासदेखि प्रदर्शन गर्दै आएको वीरता र बलिदानप्रति सराहना गर्दै नेपालको गणतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्नु भयो । उहाँले तमुहरुको एकता प्रदर्शनले भाषा, संस्कृति र परम्पराको जगेर्ना हुनुका साथै छुट्टै पहिचान स्थापित हुन सकेको प्रष्ट पार्नु भयो ।
तमुबहुल क्षेत्रमा साप्ताहिक रुपमा मनाइएको ल्होछार कार्यक्रमको अन्तिम दिन प्रधानमन्त्री प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको हो ।
प्रधानमन्त्रीले नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, इञ्जिनियरहरुको अन्तर्राष्ट्रिय ग्लोबल फेस्टमा प्रथम हुने ई सन्दीप गुरुङ, न्यायाधीश सत्यराज गुरुङ, फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, समुदायका अगुवाहरु तमु प्ये ल्हु संघ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष रुपबहादुर गुरुङ, बौद्ध अर्घांै सदनका पूर्व अध्यक्ष मनबहादुर गुरुङ, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्की अध्यक्ष दलबहादुर गुरुङ, तमु धीं युकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, समाजसेवी माया गुरुङ, समाजशास्त्री पोलबहादुर गुरुङ, सञ्चारकर्मी इन्दिरा गुरुङ र ह्वाइट लोटस स्टुडियो तमु मै ताँका निर्देशक युग गुरुङलाई सम्मान पनि गर्नुभएको थियो ।
औपचारिक कार्यक्रम सकेर प्रधानमन्त्रीले तमु प्हे ल्हु संघले तयार गरेको क्होइबो, दुधपोखरी तमु समाजले बनाएको परम्परागत भेडीगोठ र घाटु नृत्य हेर्नुका साथै ल्होछारकै अवसरमा आयोजित राष्ट्रिय छेलो प्रतियोगिताको अवलोकन गर्नुभएको थियो ।