अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्‍पन्‍न

अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्‍पन्‍न

२७ माघ, काठमाडौँ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको चालु आर्थिक वर्ष २०८०/२०८१ को दोस्रो त्रैमासिक एवम् अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्‍पन्‍न भएको छ।

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूको समुपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको प्रगति, कार्यान्वयनमा देखिएका समस्याहरू र सुधारका लागि चाल्नुपर्ने कदमहरू सम्बन्धमा एकीकृत प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रस्तुतिको क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तथा अन्तर्गत निकायका प्रमुख एवम् प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्‍नुभएको थियो।

कार्यक्रमको अन्त्यमा निर्देशन दिनुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूले आ-आफ्नो लक्ष्यअनुसारको कार्यसम्पादन एवम् प्रगतिका सम्बन्धमा मासिक रूपमा छलफल गरी समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको साथै सम्पूर्ण कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणको रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण समयमै कार्यान्वयन गर्नुपर्ने तथा तोकिएको लक्ष्य तोकिएकै समयमा पूरा गर्ने संस्कृतिको विकास गर्दै थप प्रभावकारी र रणनीतिक ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ बमोजिम गतिशील भएर काम गर्नुपर्ने तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रक्रिया सुरु भैसकेको सन्दर्भमा चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न समेत निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूका सल्लाहकारज्यूहरू, नेपाल सरकारका मुख्य सचिवज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायका सचिवज्यूहरू तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।