संघीयताले सिंहदरबारको अधिकार गाउँ–गाउँमा लैजानेछ, ‘प्रधानमन्त्री’

संघीयताले सिंहदरबारको अधिकार गाउँ–गाउँमा लैजानेछ, ‘प्रधानमन्त्री’

फाल्गुण ६, लिवाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताले सिंहदरबारमा केन्द्रित रहेको अधिकारलाई गाउँ–गाउँसम्म लैजाने बताउनु भएको छ । रोल्पा उद्योग वाणिज्य संघले रोल्पाको लिवाङमा आयोजना गरेको प्रथम रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संविधान कार्यान्वयन हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो । अहिलेको संविधानले स्थानीय तहलाई धेरै नै शक्तिशाली बनाएको छ । अधिकार गाउँपालिका र नगरपालिकातिर फर्काइएको छ । स्थानीय तहमै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था छ । यो इतिहासको सबैभन्दा ठूलो अधिकार र उपलब्धि हो । संघीयताले सिंहदरबारमा केन्द्रित भएर बसेको अधिकारलाई गाउँ–गाउँसम्म लैजाने छ । त्यसैले पनि स्थानीय तहको निर्वाचनको कुनै बिकल्प छैन ।’
नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा रोल्पाको युगान्तकारी देन रहेको प्रधानमन्त्रीले बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले हामी संघीय गणतान्त्रिक नेपालमा छौं । सामन्ती युगको अन्त्य गरेर संघीय गणतन्त्रको स्थापनामा रोल्पाको मूख्य भूमिका छ । नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा रोल्पाको युगान्तकारी देन छ । रोल्पामा नेपालको मात्र नभएर युरोप, अमेरिका, चीन, भारतजस्ता शक्तिले पनि हेरिराखेका छन् । यहाँबाट तपाईहरुले दिने सन्देशले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा गुणात्मक अर्थ राख्दछ ।’
समसामयिक राजनीतिक परिस्थितिबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान कार्यान्वयन यतिबेलाको मूख्य कार्यभार र चुनौति पनि हो । सहमतिमा निर्वाचन गर्न र देशलाई निकास दिन सरकार गम्भीर रुपले लागिरहेको छ । अब देश निर्वाचनको प्रक्रियामा जान्छ र जनयुद्धले स्थापित गरेका राजनीतिक र सामाजिक मुद्दाहरु व्यवहारमै कार्यान्वयन हुनेछन् ।’
रोल्पाको विकासबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘राजनीतिक परिवर्तनले मात्रै जनताको पेट भरिन्न, नाङ्गो आङ ढाकिन्न । अब हामीले विकासको युगको सुत्रपात गर्नुछ । विकासले मात्रै हाम्रा चाहनाहरुको सम्बोधन गर्न सक्छ । मेरो नेतृत्वको सरकार संविधान कार्यान्वयन गर्ने र आर्थिक समृद्धि हासिल गर्ने मिसनमा अगाडि बढिरहेको छ ।’
महोत्सवमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षामान पुन ‘अनन्त’ लगायतका वक्ताहरुले परिवर्तनको आन्दोलनमा रोल्पाको अग्रणी योगदान रहेको भन्दै अब विकास र समृद्धिमा पनि अग्रता लिनुपर्ने बताउनु भयो ।