प्रधानमन्त्रीसँग युएनडिपीका आवासीय प्रतिनिधि भ्यालेरी जुलियानको भेट

प्रधानमन्त्रीसँग युएनडिपीका आवासीय प्रतिनिधि भ्यालेरी जुलियानको भेट

फाल्गुण ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि भ्यालेरी जुलियानले भेट गर्नुभएको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायका विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक र सफलताउन्मूख रहेको भन्दै संक्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय कानून र मान्यताहरुको अवलम्बन गर्न सरकार तयार रहेको बताउनु भयो । भेटमा प्रधानमन्त्रीले शान्ति सम्झौतादेखि शान्ति प्रक्रियाको पूर्णतामा संयुक्त राष्ट्र संघले खेलेको भूमिकाका लागि धन्यवाद दिनुभयो । साथै भेटमा प्रधानमन्त्रीले नेपालको पूनर्निर्माण प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो ।
भेटमा जुलियानले नयाँ सरकार गठनपश्चात् नेपालको पूनर्निर्माण प्रक्रियाले तिब्रता पाएको बताउँदै नेपालको पूनर्निर्माण र आर्थिक सहयोगका लागि संयुक्त राष्ट्र संघ तयार रहेको जानकारी दिनुभयो । भेटमा जुलियानले नेपालको विकासमा सहयोग गर्ने दातृ संस्थाहरुको मिनी–कन्फरेन्सका लागि समेत प्रस्ताव गर्नुभएको थियो ।