सबैको परामर्शमा संशोधन प्रस्ताव दर्ता गरिएको हो, ‘प्रधानमन्त्री’

सबैको परामर्शमा संशोधन प्रस्ताव दर्ता गरिएको हो, ‘प्रधानमन्त्री’

पौष ९, घर्तिगाउँ, रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दल र असन्तुष्ट पक्षसँगको परामर्शमा नै सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको बताउनु भएको छ ।
शनिबार बिहान रोल्पाको घर्तिगाउँमा शहिद मार्ग निरीक्षण र अनुगमनका क्रममा बोल्दै प्रधानमन्त्रीले सबैको परामर्शमै संविधान संशोधन प्रस्ताव दर्ता गरेको बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘चार महिना लामो गृहकार्यपछि मात्रै संविधान संशोधन प्रस्ताव दर्ता गरिएको हो । मैले संशोधन प्रस्ताव दर्ता गर्नुपूर्व सबैसँग परामर्श गरेको छु । सबैको मध्यमार्गी उपायका रुपमा अहिलेको प्रस्ताव आएको हो । यो प्रस्तावले सबैको चित्त त बुझ्दैन । तर, योभन्दा राम्रो प्रस्ताव अरु हुँदैन ।’
सरकार निर्वाचनको वातावरण बनाउन लागिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘थारु, मधेशी, जनजातिले नमान्दा पनि चुनावमा जान सकिन्छ त ? सकिँदैन भने सबैलाई मिलाएर जानु अहिलेको आवश्यकता हैन ? थारु, जनजाति, मधेशी लगायत देशका सबै समुदाय र दलहरुलाई मिलाएर मात्र निर्वाचनको वातावरण बन्छ । निर्वाचनको वातावरण नबनाई जवरजस्ती निर्वाचन कार्यान्वयन गर्न सकिँदैन ।’
रोल्पाको शहिद राजमार्ग राजनीतिक र सामाजिक दृष्टिले रणनीतिक महत्वको भएकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘जनयुद्धकै बेला शहिद राजमार्ग हाम्रै परिकल्पना हो । युद्धकै बेला यो मार्ग निर्माण कार्य सुरु गरिएको थियो । अहिले राज्यको योजनाको रुपमा अघि बढेको छ । तपाईहरुले समयमै गुणस्तरीय रुपमा काम सम्पन्न गर्नुहोला । सरकारले शहिद राजमार्ग समयमै सम्पन्न गर्न सबै सहयोग गर्नेछ ।’
सो अवसरमा प्रधानमन्त्रीले पत्रकार भेटघाट गर्दै सरकारका विरुद्ध गलत प्रचारबाजी गरिएको भन्दै प्रतिपक्षीको काम प्रतिरोध मात्रै हुन नहुने बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हिन्दी भाषालाई राष्ट्रिय भाषा बनायो, फास्ट ट्रयाक भारतलाई दियो, लुम्बिनी बेचिसक्यो जस्ता वाहियात भ्रमहरु छरिएको छ । तर, भ्रमले सत्यलाई ढाक्न सकिँदैन । सरकार राष्ट्रिय एकता र जनताको जीवनमा परिवर्तन ल्याउन क्रियाशील छ ।’
कार्यक्रममा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन, जोखबहादुर महरा लगायतको उपस्थिति रहेको थियो ।