देश अब निर्वाचनतिर अघि बढ्छ, ‘प्रधानमन्त्री’

देश अब निर्वाचनतिर अघि बढ्छ, ‘प्रधानमन्त्री’

मंसिर १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन दर्ता भएपछि देश अब निर्वाचनतिर अघि बढ्ने बताउनु भएको छ ।
बुधबार बिहान बालुवाटारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले देश निर्वाचनतिर अघि बढेको बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो । अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ । हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौं । संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा हो । संविधान संशोधन प्रस्तावपछि देश अब निर्वाचनको दिशामा अघि बढ्नेछ ।’
प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने बताउनुभयो । ‘एमाले पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ’, प्रधानमन्त्रीले भन्नुभयो । भेटमा महिला नेताहरुले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायहरुमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।