राहदानी, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमतिपत्रका सन्दर्भमा छलफल सम्पन्न

राहदानी, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमतिपत्रका सन्दर्भमा छलफल सम्पन्न

 

माघ ८, काठमाडौँ। सवारी चालक अनुमतिपत्र, राहदानी तथा राष्ट्रिय परिचयपत्रको सेवालाई सहज र प्रभावकारी बनाउने सम्बन्धमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूले आज गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग संयुक्त रुपमा छलफल गर्नुभएको छ ।

माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्काज्यू, माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यू, माननीय परराष्ट्रमन्त्री श्री नारायण प्रकाश साउदज्यू,  माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्री प्रकाश ज्वालाज्यू, नेपाल सरकारका मुख्यसचिवज्यू, सम्बन्धित मन्त्रालयका सचिवज्यूहरु तथा विभागका महानिर्देशक र पदाधिकारीहरु उपस्थित हुनुभएको उक्त छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूले लाखौँ सेवाग्राहीले सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा समेत लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिनुभयो ।

सम्माननीय प्रधानमन्त्रीले भन्नुभयो “१४ लाख युवाले फाराम भरेर पनि लाइसेन्स पाएका छैनन्। उनीहरूलाई लाइसेन्स दिने काम तपाईहरूको हो। त्यसका लागि नीति र बजेटमा अभाव भए त्यसको समाधान म खोज्छु ।  लाइसेन्स पाउने उनीहरूको अधिकार हो। यसमा लापरवाही नगर्नुस्।”

आफु प्रधानमन्त्री भएलगत्तै सेवा प्रदायक कार्यालयका देखिने सेवाग्राहीका लामा लाइन हटाउने प्रतिवद्धता गरेको स्मरण गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यूले एक वर्षको अवधिमा त्यसमा देखिने गरी सुधार भएको भएतापनि पूर्ण सुधार हुन नसकेकोले  त्यसतर्फ गम्भीर हुन र विभाग तथा सेवाप्रदायक कार्यालयहरूको कार्यक्षमता बढाउन सम्बन्धित मन्त्रालय तथा विभागहरुलाई निर्देशन दिनुभयो ।

हाल सरकारी निकायहरुमा स–साना प्राविधिक समस्या सुल्झाउनका लागि समेत विदेशीहरू नै बोलाउनुपर्ने स्थिति रहेको भन्दै उहाँले देशलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्तिको उत्पादन तथा तालिमका लागि योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

छलफलमा उपस्थित माननीय उपप्रधानमन्त्री तथा मन्त्रीज्यूहरु, मुख्य सचिवज्यू, सचिवज्यूहरु तथा विभागका महानिर्देशकज्यूहरुले आफ्नो कार्यजिम्मेवारी तथा विषयक्षेत्रसँग सम्बन्धित विषयमा बोल्नुभएको थियो ।