भ्रमण राष्ट्रिय हित र पारस्पारिक सम्बन्धमा केन्द्रित हुनेछ, ‘प्रधानमन्त्री’

भ्रमण राष्ट्रिय हित र पारस्पारिक सम्बन्धमा केन्द्रित हुनेछ, ‘प्रधानमन्त्री’

भदौ २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न भारत भ्रमण राष्ट्रिय हित र दुई देशीय पारस्पारिक सम्बन्धमा केन्द्रित रहने बताउनु भएको छ ।
शनिबार नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसन्सले राष्ट्रिय सभागृहमा आयोजना गरेको नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले भ्रमण राष्ट्रिय हित र दुई देशीय सम्बन्धमा केन्द्रित हुने बताउनु भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल–भारत सम्बन्ध धेरै बहुआयमिक र गम्भीर छ । यस बीचमा मैले धेरै विज्ञ र कुटनीतिज्ञहरुको कुरा सुनेको छु । मेरो भ्रमण राष्ट्रिय हित र दुई देशीय पारस्पारिक सम्बन्ध सुदृढ गर्न केन्द्रित हुनेछ ।’
प्रधानमन्त्रीले आफूले जनताको भावना र राष्ट्रिय हित विपरित कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै भन्नुभयो, ‘मैले विभिन्न समुदाय र जनताका प्रतिक्रिया सुनेको छु, राष्ट्रिय आवश्यकता र चाहना बुझेको छु । मेरो भ्रमण त्रीदेशीय रणनीतिक साझेदारी, पारस्पारिक सम्बन्धको सुदृढीकरण र आर्थिक समृद्धिको विषयमा केन्द्रित हुनेछ । राष्ट्रिय हित विरुद्ध कुनै सम्झौता गरिने छैन ।’ प्रधानमन्त्रीले देशको राष्ट्रिय नीतिले विदेश नीति निर्धारित गर्नेमा जोड दिँदै भन्नुभयो, ‘कुनै पनि देशको विदेश नीति राष्ट्रिय नीतिकै विकसित रुप हो । देशभित्रको भावनात्मक र आन्तरिक एकता बलियो बनाएर मात्र बाह्य कुटनीतिमा प्रभाव विस्तार गर्न सकिन्छ ।’
राष्ट्रियताका आयामहरुको चर्चा गर्दै प्रधानमन्त्रीले थप्नुभयो, ‘राष्ट्रियता बलियो हुन देशभित्रका शक्ति र समुदायबीच बलियो एकता कायम गर्नुपर्छ । हामीकहाँ राष्ट्रवादको नारा लगाउँदा लगाउँदै बिखण्डनको खतरा बढाउने प्रवृत्ति छ । देशभित्रका समुदायलाई अपमानित गरेर, तराई र पहाडलाई अलग–थलग गरेर राष्ट्रवाद बलियो हुँदैन, झन् कमजोर हुन्छ ।’ प्रधानमन्त्रीले जोखिमको सामना बिना चुनौतिलाई अवसरमा बदल्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘लिडरको काम लिड गर्ने हो, लकिरको फकिर होइन । लिडरलाई रिक्स लिने छुट हुनुपर्छ, नत्र लिडरको विकास हुनै सक्दैन । त्यसका लागि मलाई तपाईहरुको बलियो साथ चाहिन्छ ।’
कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, परराष्ट्रविद् भेषबहादुर थापा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ लगायतका वक्ताहरुले नेपाल–भारत सम्बन्धका विविध आयाम र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे बोल्नुभएको थियो ।