बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिने विषयमा छलफल सम्पन्न

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिने विषयमा छलफल सम्पन्न

 

माघ ९, काठमाडौँ। सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कार्यलाई तिव्रता दिने विषयमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरुसँग संयुक्त रुपमा छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयामिक आयोजना भएकाले आयोजनाको काममा तीव्रता दिन आग्रह गर्नुभयो।

आयोजनाका लागि जग्गा अधिग्रहण गरी हालसम्म ४३ अर्ब रुपैयाँ मुआब्जा वितरण भैसकेको, थप अधिग्रहणका निम्ति जग्गा रोक्का गरिएको र फिल्ड अफिस स्थापना गरेर उद्घाटन समेत गरिसकेको परिस्थितिमा आयोजनाको निर्माण कार्यबारे कुनै प्रकारको अन्योलमा नरहन र आयोजनालाई तीव्र रुपमा अगाडि बढाउन उहाँले सम्बन्धित मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र बुढीगण्डकी जलविद्युत् लिमिटेडलाई निर्देशित समेत गर्नुभयो।

बुढीगण्डकी जलविद्युत् आयोजना बहुप्रतिफलमूखि आयोजना भएको र यसले राष्ट्रिय अर्थतन्त्रमा नै गुणात्मक योगदान गर्ने उल्लेख गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभयो, “यसबाट जलविद्युत् उत्पादन त हुन्छ नै। त्यसमाथि जलाशययुक्त आयोजना भएकाले वर्षातको समयमा देखिने उर्जाको दबाब सन्तुलित गर्न यसको महत्वपूर्ण भूमिका रहन्छ। यसबाट पर्यटक आगमन, माछापालन, भौतिक निर्माण, निर्माण सामग्रीहरूको खपत, रोजगारी सिर्जना लगायत अर्थतन्त्रका धेरै क्षेत्रमा योगदान पुग्दछ भन्ने कुरा गम्भीर रूपमा बुझौँ। आयोजनाको स्रोतका निम्ति मन्त्रिपरिषद् बैठकले पूर्वाधार करको रू. ५ उपलब्ध गराउने निर्णय गरिसकेको छ। अन्तरनिकाय समन्वय गरी सरकारी कोषहरूमा रहेको रकम पनि परिचालन गरौँ। तर, आयोजनाको काममा विलम्ब नगरौँ।”

छलफलमा माननीय उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्री शक्ति बहादुर बस्नेतज्यूले बुढीगण्डकी जलविद्युत् आयोजना हरेक दृष्टिकोणबाट महत्वपूर्ण रहेको र भारतसँगको उर्जा व्यापार सम्झौताको कार्यान्वयनका निम्तिसमेत यो आयोजना महत्वपूर्ण रहेको भन्दै लगानीका स्रोतहरूको खोजी र परिचालनमा तीव्रता दिइएको बताउनुभयो।

त्यसैगरी नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालज्यूले पेट्रोलियम पदार्थमा लगाइएको रू. १० पूर्वाधार करमध्ये रू. ५ बुढीगण्डकी आयोजनालाई विनियोजन गर्ने निर्णय भइसकेको जानकारी गराउँदै विभिन्न सरकारी कोषहरु सञ्चालन गरिरहेका निकायहरुको पुँजी आयोजनामा परिचालन गर्न आवश्यक समन्वय र पहल हुनुपर्ने बताउनुभयो।

उक्त अवसरमा बुढीगण्डकी जलविद्युत् लिमिटेडका आयोजना प्रमुख श्री जगत श्रेष्ठज्यूले आयोजनाको स्थिति, प्रगतिको अवस्था र आगामी योजनाबारे प्रस्तुति राख्नुभएको थियो।

सो छलफलमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काज्यू, माननीय उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री श्री शक्ति बहादुर बस्नेतज्यू, माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री श्री रेखा शर्माज्यू, नेपाल सरकारका मुख्य सचिवज्यू, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय तथा उर्जा मन्त्रालयका सचिवज्यूहरुका साथै नेपाल विद्युत प्राधिकरण तथा बुढीगण्डकी जलविद्युत् लिमिटेड लगायतका सम्बद्ध निकायका अधिकारीहरू उपस्थित हुनुभएको थियो ।