प्रहरी समायोजन, सहकारी समस्या तथा भिजिट भिसाको समस्याबारे छलफल पश्चात् प्रधानमन्त्रीज्यूको निर्देशन

प्रहरी समायोजन, सहकारी समस्या तथा भिजिट भिसाको समस्याबारे छलफल पश्चात् प्रधानमन्त्रीज्यूको निर्देशन

 

माघ ३, काठमाडौं। सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिनुभएको छ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू,  नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालज्यू,  गृह मन्त्रालयका सचिवज्यू, नेपाल प्रहरीका महानिरीक्षकज्यू तथा गृह मन्त्रालयका अधिकारीहरूसँग भएको छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिनुभएको हो। उहाँले विद्यमान ऐन अनुसार आगामी १५ दिनभित्र प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन पनि निर्देशन दिनुभएको छ।

त्यसैगरी सम्माननीय प्रधानमन्त्रीज्यूले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न पनि सम्बन्धित मन्त्रालयसहितका निकायहरूलाई निर्देशन दिनुभएको छ।

बुधबार बिहान माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू, माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठज्यू, नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालज्यू तथा सम्बन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरूसँगको छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै तत्कालीन र दीर्घकालीन उपायहरू अपनाएर सहकारीलाई व्यवस्थित बनाउन तथा देखिएका समस्याहरु समाधान गर्न निर्देशन दिनुभयो ।

उहाँले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै राम्रा, संकटमा रहेका र डुबेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न हाल विद्यमान नियामक संस्थालाई निर्देशन दिनुभएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसका लागि तिनै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी सम्माननीय प्रधानमन्त्रीज्यूले  भिजिट भिसा तथा श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू,  माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीज्यू,  नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालज्यू तथा सम्बन्धित मन्त्रालयका सचिव र पदाधिकारीहरूसँग बुधबार भएको छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभयो, “भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि  सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनु होला।जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला।”

सम्माननीय प्रधानमन्त्रीज्यूले पालिकास्तरसम्मै गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्नसमेत सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।