सम्माननीय प्रधानमन्त्रीबाट दुईवटा सिँचाइ आयोजनाको भर्चुअल अनुगमन

सम्माननीय प्रधानमन्त्रीबाट दुईवटा सिँचाइ आयोजनाको भर्चुअल अनुगमन

 

माघ ८, काठमाडौँ । सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) को आज अनुगमन गर्नुभएको छ । त्यसक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै कार्यक्षेत्रमा परिणाममूखि काम गर्दै निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्न आयोजना प्रमुखहरूलाई निर्देशन दिनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनाहरूलाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने पनि बताउनुभयो।

सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने भन्दै पटकपटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्न पनि निर्देशन दिनुभयो । उहाँले हरेक आयोजनामा सुरूको लगत इस्टिमेट अनुसार नै काम सम्पन्न गर्नुपर्ने बताउँदै पटकपटक समय र दायित्व थप्ने कुराले हाम्रो प्रशासनिक नियत र सामर्थ्यमा नै प्रश्न उठ्ने र देशको अर्थतन्त्र र समृद्धिमा गम्भीर असर पार्ने बताउनुभयो ।

उक्त भर्चुअल अनुगमनका क्रममा सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) का प्रमुखहरुले सम्बन्धित आयोजनाको अवस्था, प्रगति विवरण र समस्याहरूबारे ब्रिफिङ गर्नुभएको थियो।

उक्त अवसरमा माननीय उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतज्यू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालज्यूका साथै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवज्यूहरुको उपस्थिति थियो ।